जनकपुरधाम, जेठ ६ गते । जनकपुरधाम स्थित जानकी मन्दिरमा सबा किलो सुन चढाएर माता जानकीको जन्मोत्सव जानकी नवमी मनाइएको छ ।
मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले एक किलो र श्रद्धालु निर्मला देवीले अढाई सय ग्राम गरी सब किलो सुन माता जानकीलाई चढाइएको कुरा जनाइएकाे छ ।
मन्दिरको स्थापनाकालदेखि नै प्रत्येक वर्ष जनकपुरधाम सहित मिथिलाञ्चलमा वैशाख शुक्ल नवमीका दिन जानकी नवमी अर्थात माता जानकीको जन्मोत्सव मनाइदै आएको छ । तर गत दुई वर्षदेखि कोरोना संक्रमण महामारीका कारण जानकी नवमी प्रभावित हुँदै आएको छ ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाका कारण गत वर्ष र चालु वर्ष भव्यताका साथ नभई मन्दिरको मूल ढोका बन्द गरी मन्दिरका महन्थ, पुजारी र कर्मचारी सहितको सिमित व्यक्तिको उपस्थितिमा प्रक्रिया पुरा गर्ने हिसाबले मात्र पुजापाठ गरी मनाइदै आएको छ ।
हजारौँको संख्यामा भिड रहने गरेको जानकी मन्दिर माता जानकीकै जन्मोत्सवका दिन सुनसान देखियो । निषेधाज्ञाको कारण मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले एक साता अगाडि देखि नै घरमै पुजापाठ गरी जानकी नवमी मनाउन आग्रह गर्र्दै आएका थिए ।
उनले भने सर्वसाधारणको लागि मन्दिर बन्द भएपनि पुजापाठ पहिले जस्तै भइरहेको छ । कोरोनाको त्रासका स्थानीय श्रद्धालु भक्तजनहरुले आ आफ्नो घरमै दियो बाली विधिपुर्वक पुजापाठ गरी आरती गर्दै माता जानकीको जन्मोत्सव मनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !