जनकपुरधाम, वैशाख ३० गते । कोरोना संक्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार र संचार उद्यमीलाई राहत उपलब्ध गराउन नेपाल पत्रकार महासंघ, प्रदेश २ समितिले प्रदेश सरकारसँग माग गरेको छ ।
बिहीबार प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई ज्ञापन बुझाउँदै महासंघले रौतहटमा बुधबार मृत्यु भएका रेडियो मधेश मशालाका पत्रकार मनोजकुमार चौधरी र रेड टेलिभिजनका अध्यक्ष संचार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको हो ।
ज्ञापनमा प्रदेश सरकारले गतवर्ष फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारलाई कार्य गर्दागर्दै संक्रमणले मृत्यु भएमा उचित राहत उपलब्ध गराउने घोषणा गरेको थियो र सो घोषणा अनुरुप ५० लाख रुपैया बजेट समेत छुटयाइएको थियो भन्ने कुरा स्मरण गराउंदै मृतक पत्रकारद्वयलाई राहत उपलब्ध गराई दिनु हुन मांग गरिएको थियो ।
महासंघका प्रदेश अध्यक्ष राजेश कर्णले बुझाएको सो ज्ञापनमा प्रदेशभरिमा १६ जना पत्रकार अझै संक्रमित रहेको छ तिनीहरुको निशुल्क उपचारको व्यवस्था र समाचार सम्प्रेषण तथा संकलनका लागि फ्रन्टलाईनरको रुपमा खटने पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई दिनु हुन समेत मांग गरिएको छ ।
ज्ञापन बुभ्दै मन्त्री यादवले पत्रकार महासंघले उठाएका मागलाई सकारात्मक रुपमा लिएको भन्दै आफूले गत वर्ष गरेको घोषणा अनुसार मृतक पत्रकारद्वयलाई उचित राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।
उनले भने संक्रमित रहेका पत्रकार तथा अन्य सर्वसाधारण समेतलाई सरकारीका साथै निजी अस्पतालमा समेत निशुल्क उपचारको व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको छ । जहासम्म पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्रीको कुरा हो त्यो मन्त्रालय मातहत रहेका मिडिया काउन्सील मार्फत उपलब्ध गराउनेछु । सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा अध्यक्ष राजेश कुमार कर्ण सहित महासंघका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !