जनकपुरधाम, वैशाख ३० गते । जनकपुरधाममा अतिक्रमण गरी गुठी संस्थानको जग्गा अवैध रुपमा बनाइएका करीब तीन दर्जन घर टहरा प्रहरीले भत्काएको छ ।
बिहीवार जनकपुरधाम उपमहानगरपालिका १२ कुवा टोलस्थित गुठी मातहतका स्थानीय राजदेवी मन्दिरको गेनाही पोखरीको डिल अतिक्रमण गरी बनाइएका ३५ वटा घर टहरा भत्काइएको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाका प्ररी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
गुठी संस्थान धनुषाको सिफारिस र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरी टोलीको सुरक्षाका बीच गुठीको जग्गा अतिक्रमण गरी अवैध रुपमा बनाइएको घर टहरा खाली गराउन डोजरले घर टहरा भत्काई अतिक्रमण मुक्त गराइएको उनले बताए ।

ती घर टहरा भत्काउने क्रममा स्थानीयले विरोध गर्दै प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरेको थियो । स्थानीयले गरेको ढुंगामुढाले डोजरको सीसा फुटेर क्षति भएको छ भने डोजर चालक सहित दुईजना प्रहरी समेत सामान्य घाइते भएको जानकारी दिदै अवैध रुपमा बनाइएका घर टहरा भत्काउने क्रम जारी रहने प्रहरी उपरिक्षक रानाभाटले बताए ।
प्रहरीमाथि ढुंगामुढा भएपछि थप दर्जनौ प्रहरी परिचालन गरिएको थियो । तोडफोडमा अवरोध गर्दै प्रहरीमाथि हातपात प्रयास गर्ने आरोप आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ । बिहान साढे ११ बजेदेखि शुरु भएको घर टहरा भत्काउने कार्य बेलुका साढे ५ बजेसम्म जारी रहेको थियो । बाँकी रहेका अवैध घर टहरा भत्काउने ढिलो भइसकेको कारण भत्काउन सकिएन अर्को दिन भत्काउने कार्य पुनः हुने प्रहरीले जनाएको छ ।
अवैध घर टहरा भत्काइएपछि दुई दर्जनभन्दा बढी स्थानीयको उठिबास नै भएको छ । तिनीहरु कोरोना महामारीको बेला लकडाउनमा कहाँ जाने विचल्लीमा परेका छन । पिडीत मध्येका बहादुर मुखियाले भने हामी सुकुम्बासी हौं वर्षौदेखि घर बनाएर बस्दै आएका थियौं, घर नै भत्काउने थियो भने हामीलाई केही समयावधि दिनु पथ्र्यो दुखेसो सुनाए ।
यता जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारीले गुठी संस्थान कार्यालय धनुषाबाट स्थानीय राजदेवी मन्दिरको पोखरी डिलमा अतिक्रमित जग्गा मुक्त गराउन सिफारिस भई निवेदन आएकोमा अतिक्रमण मुक्त गराइएको बताए ।
उनले भने हामीलाई जग्गा अतिक्रमण मुक्त गराउन आवश्यक सहयोग गरिदिन आएको निवेदनको आधारमा सुरक्षाको दृष्टिकोणले प्रहरी परिचालन गरी ती जग्गा अतिक्रमण मुक्ता गराइएको हो । शक्ति र पहुँचवालाका घर नभत्काइएको स्थानीयको आरोप बारे उनले भने हामीले सुरक्षा प्रदान गरेका थियौं कुन घर भत्कियो कुन बाँचियो त्यो गुठी संस्थानले थाहा होला ।
अतिक्रमण मुक्तमा ढिलाई किन ?
वर्षौदेखि अतिक्रमण भएपनि अहिले नै आएर कोरोना महामारीका बेला किन अतिक्रमण मुक्त गराउन खोजियो भन्ने प्रसंगमा राजदेवी मन्दिरका महन्थ तुलसी गिरीले भने पोखरी डिलमा रहेका यी अतिक्रमणको कारण पोखरी संगै रहेको अर्बौ मूल्य बराबरको गुठीको २२ विग्घा जग्गाको प्लट नै कब्जा गर्ने क्रम शुरु भइसकेको थियो ।
ती २२ विग्घामा जग्गामा समेत घर टहरा बन्न थालेपछि गुठी संस्थानको केन्द्रिय कार्यालयको निर्देशनानुसार नयाँ बनेका ती घरहरु सहित पोखरी डिलमा रहेका घरहरु भत्काएर अतिक्रमण मुक्त गराउन लागिएको उनले भने ।
महन्थ गिरीले पोखरी डिल अतिक्रमण गरी करीब २ सय जति घर अवैध रुपमा बनाइएको छ, गुठीको निर्देशनानुसार ती सबै घर टहरा हटाई डिल र मन्दिर मातहत रहेका जग्गा अतिक्रमण मुक्त गराइनेछ भने । उनले थप्दै भने गुठीको निर्देशनानुसार आफू मन्दिर मातहत रहेको पोखरीको डिल अतिक्रमण मुक्त गराउन खोज्दा स्थानीयले ज्यान मार दिने, यहाँबाट भगाई दिने लगायतका धाक धम्की दिइरहेको छ ।
केही दिन अघि स्थानीय भजन मुखिया र मंगनिया मुखिया लगायत व्यक्तिले पोखरी नजिकै रहेका २२ विग्घे जग्गाको प्लटमा अतिक्रमण गरी नयाँ घर बनाएपछि स्थानीयवासीले ती पुरै जग्गा सालखुट्टा र आली बनाएर कब्जा गर्न प्रयास गरेका थिए ।
सो अतिक्रमणको २४ घण्टा नबित्दै मन्दिरका महन्थ र केही स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सालखुट्टा प्रहरी लगाएर हटाइएको थियो । स्थानीयले नै एउटाले अतिक्रमण गर्ने अर्को कि नगर्ने भनी महन्थ कहाँ विवाद गर्न थालेपछि गुठीद्वारा अतिक्रमणमा परेका पोखरीको डिल र अन्य अतिक्रमित जग्गा खाली गराउन लागेका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !