जनकपुरधाम, वैशाख ३० गते । कोरोना संक्रमणले प्रदेश २ को रौतहटमा एक पत्रकार र एक संचार उद्यमीको मृत्यु भएको छ ।
जिल्लाको गरुडा स्थित रेडियो मधेश मशालाका स्टेशन मैनेजर पत्रकार मनोज कुमार चौधरीको वीरगंजको नारायणी अस्पताल र गौर स्थित रेड टेलिभजनकी संचालिका संचार उद्यमी रमादेवी यादवको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले जनाएको छ ।
वैशाख १३ गते संक्रमण पुष्टि भएका पत्रकार चौधरीलाई स्वास प्रश्वासमा समस्या भएपछि १७ गतेदेखि नारायणी अस्पतालमा उपचार हुदै आएको थियो भने एक साता अघिदेखि गौर अस्पतालमा रमादेवीको उपचार हुँदै आएको थियो । पत्रकार चौधरीको मंगलवार करीब ६ बजे र रमादेवीको मंगलवार मृत्यु भएको छ ।
करीब एक दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार चौधरीको परिवारमा श्रीमति र एक छोरी एक छोरी रहेका छन । रमादेवी नेपाल पत्रकार महासंघ रौतहटका पुर्व उपाध्यक्ष जय प्रकाश यादवका श्रीमति हुन ।
यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेशकुमार कर्णले फ्रन्टलाईनरको रुपमा काम गर्दै आएका मृतक पत्रकार चौधरी र संचार उद्यमी रमादेवीको परिवारलाई उचित राहत उपलब्ध गराउन प्रदेश सरकारसँग मांग गरेको छ ।
अध्यक्ष कर्णले प्रदेश सरकारले गत वर्ष कोरोनामा फ्रन्टलाईनरको रुपमा काम गर्ने पत्रकारका लागि भएमा उचित राहत दिने घोषणा गरेको थियो र सोका लागि ५० लाख रुपैया बजेट समेत छुटयाएको स्मरण गराउंदै घोषणा अनुरुप मृतक पत्रकार र संचार उद्यमीलाई राहत उपलब्ध गराई दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग मांग गरेका छन ।
उलने प्रदेशमा अझै १६ जना पत्रकार संक्रमित भई होम आइसोलेशन र अस्पतालमा उपचाररत अवस्थामा रहेको जानकारी गराउंदै फ्रन्टलाईनरको रुपमा काम गर्ने पत्रकारहरुको पेशागत प्रोत्साहनका र सुरक्षाका लागि निशुल्क उपचार र स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन समेत मांग गरेका छन ।
यस्तै मधेशी पत्रकार समाजका प्रदेश अध्यक्ष विरेन्द्र रमणले पनि एक विज्ञप्ति जारी गरी मृतक पत्रकार चौधरी र संचार उद्यमी रमादेवीलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन ।
उनले पत्रकारहरुलाई काम गर्ने वातावरणका लागि स्वास्थ्य सुरक्षा सामाग्री र संक्रमित पत्रकार उपचारको निशुल्क व्यवस्था उपलब्ध गराई दिन समेत प्रदेश सरकारसँग मांग गरेको हो ।
यस्तै नेपाल पत्रकार महासंघ राैतहटले मृतक पत्रकार चाैधरी र संचार उद्यमी रमादेवी शाेक व्यक्त गरेका छन । महासंघका अध्यक्ष प्रेमचन्द्र झाले एक शाेक विज्ञप्ती जारी गर्दै मृत आत्माप्रति शाेक व्यक्त सहित चिरशान्ति कामना गर्दै शाेक सन्तप्त परिवारलाई धैर्यधारण गर्न ईश्वरले शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन ।
साथै काेराेना संक्रमणकाे चुनाैतीपुर्ण अवस्थामा जिउज्यान सुरक्षा ख्याल गर्दै पेशागत कार्यमा लाग्न सम्पुर्ण पत्रकारलाई आग्रह गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !