काठमाडौं, वैशाख २३ गते । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडेसिभिरको कालोबजारी गर्ने आराेपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ ।
गोरखाको आरुघाट घर भई काठमाण्डौ बस्दै आएका २५ वर्षीय रफिक मियाँलाई रेमडेसिभिरको कालोबजारी गर्ने आराेपमा पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा उनलाई काठमाण्डौको वसुन्धराबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले जानकारी दिए ।
उनका अनुसार मियाँले करिब २४ हजार भारु पर्ने एकसेट रेमडेसिभिरलाई १ लाख २० हजार रुपैयाँमा बिक्री गर्न लागेका थिए ।
प्रहरीका अनुसार एक डोजमा ६ पीस हुने गरेको छ । सूचना पाएपछि ग्राहक बनेर मियाँलाई पक्राउ गर्न सफल भएको प्रवक्ता पंगेनीले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा रफिकले महाराजगञ्जमा दीपक ढकालले सञ्चालन गरेको सेवक फर्माको रेमडेसिभिर बेच्ने गरेको देखिएपनि ढकाल भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका मियाँलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता पंगेनीले जानकारी दिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !