बुटवल, वैशाख १७ गते । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिई प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना गरेको र सो तिर्न नसकेपछि पक्राउ परेका मध्येका तीनजना कारागार चलान गरेको हो ।
कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका ४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पु¥याएको हुँदा नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारवाही गरिएको हो,’ डीएसपी थापाले बताएका छन ।
यता निषेधाज्ञाको नाममा ज्यादती गर्दै सर्वसाधारणलाई थुनामा पठाउने कार्य गलत भएको मानव अधिकारकर्मीहरुले आरोप लगाउंदै प्रहरीको कार्य विरुद्ध आपति जनाएका छन ।
मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको बताए ।
उनले भने निषेधाज्ञाको पालना गराउनु जायज हो, तर सर्वसाधारण नागरिकको अवस्था ख्याल नगरी त्यसरी एक महिना जेल पठाउनु गलत हो । कानून पालना गराउने नाममा गरीब र विपन्न नागरिकलाई थुनामा पठाउनु तिनीहरुमाथि अन्याय र ज्यादती हो ।
प्रहरीले निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पहिलो दिन १ हजार २० वटा सवारी साधन होल्डमा राखेर छाडेको छ । जसमध्ये ५० वटा सार्वजनिक सवारी साधन, १० वटा निजी सवारी साधन, १८० वटा मालवाहक सवारी साधन, ७१० वटा मोटरसाइकल, ७० वटा साइकल र २०० जना प्रदलयात्रीलाई होल्डमा राखेर छाडिएको डीएसपी थापाले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !