जनकपुरधाम, वैशाख १४ गते । कोरोना संक्रमणको दोश्रो लहरमा तिव्रगतिमा संक्रमण फैलिदै गएको दृष्टिगत गर्दै प्रदेश २ मा पनि निषेधाज्ञा हुने भएको छ ।
प्रदेशको पर्सा जिल्लाबाट निषेधाज्ञा शुरु हुन लागेको हो । वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को सिफारिसमा निषेधाज्ञा गरिएको हो ।
सहायक प्रजिअ भीमकान्त पौडेलको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकमा जिल्लामा संक्रमितहरुको संख्या ह्वातै बढदै गएकोले संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष निकाल्दै वैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।
निषेधाज्ञा अवधिमा औषधि उपचार र अत्यावश्यक काम बाहेक घर बाहिर निस्किन वा हिलडुल गर्न पाइने छैन । निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही गरिने कुरा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी निषेधाज्ञा पत्रमा भनिएको छ ।
सामाजिक कार्य व्रतवन्ध कार्यक्रम जिल्ला प्रशासन कार्यालयको अनुमतिमा १५ जनाभन्दा बढी सहभागी हुने गरी गर्नुपर्नेछ, सबै प्रकारको होटल रेष्टुरेन्ट, सभा सम्मेलन, हाट बजार र सामूहिक खेलकूद गर्न निषेधाज्ञामा पाइने छैन । त्यस्तै मालवाहक, सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा सम्बद्ध व्यक्तिहरुले प्रयोग गर्नु गाडी, एम्बुलेन्स, दमकल, दुधगाडी, पेट्रोलियम लगायतका अत्यावश्यक वाहेक अन्य सवारी साधन जिल्ला प्रशासन कार्यालयको अनमुति बिना संचालन गर्न पाइने छैन ।
यसैगरी, वीरगञ्जको नेसनल मेडिकल कलेजलाई कोरोना संक्रमितको उपचार गर्नका लागि अनुरोध गर्ने निर्णय समेत डीसीसीएमसी बैठकबाट गरिएको छ । हाल विरगञ्जमा ८६७ सक्रिय संक्रमित रहेका छन । ती मध्ये ४६ जना अस्पतालमा र ८२१ जना होम आइसोलेशनमा उपचाररत अवस्थामा छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !