जनकपुरधाम, वैशाख १ गते । नेपाल सरकारले मात्र पाँच जिल्लावासीले मनाउने सिरुवा पर्वको अवसरमा ती जिल्लाहरुमा सार्वजनिक विदा घोषणा गरेको छ । तर तराई मधेशका २२ जिल्लाले मनाउने जुड शीतल पर्वमा विदा दिएको छैन ।
बिहीवार एकैसाथ तराई मधेशका पांच जिल्लामा सिरुवा र २२ जिल्लामा जुडशीतल पर्व मनाइने भएको छ । ठूलो संख्यामा मनाउने जुडशीतल पर्वलाई उपेक्षा गर्दै नेपाल सरकारले सिरुवा पर्व मनाउनेहरुका लागि मात्र सार्वजनिक विदा घोषणा गरेका हुन ।
गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै तराई मधेशका झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदा घोषणा गरिएका ती जिल्लाहरुमा सिरुवा पर्व भन्दा बढी जुडशीतल पर्व मनाउनेहरुको संख्या रहेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म वर्षभरिमा दिइने सार्वजनिक बिदा गत चैत्र ९ गतेको राजपत्रमा प्रकाशित गरेको थियो । राजपत्रमा प्रकाशित सूचना अनुसार नै २०७८ सालको सिरुवा–पावनी पर्व वैशाख २ गते बिहीबार पर्न गएकोले सो दिन पाँच जिल्लामा बिदा दिइएको गृह मन्त्रालयको सूचनामा भनिएको छ ।
नेपाल सरकारले जुडशीतल पर्वलाई उपेक्षा गर्दै सिरुवा पर्वका लागि मात्र गरेको सार्वजनिक विदा घोषणाको तराई मधेशका जिल्लाहरुमा चर्को आलोचना हुन थालेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !