जनकपुरधाम, वैशाख १ गते । जनता समाजवादी पार्टी भित्र फुटको संकेत देखिन थालेको छ ।
पछिल्लो पटक मंगलवार पुर्व राजपासँग आबद्ध प्रदेश २ सरकार भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको चियापान समारोह कार्यक्रममा पुर्व समाजवादी पार्टीका नेता तथा मन्त्रीहरुको उपस्थिति देखिएन ।
मन्त्रालयको प्रांगणमा आयोजित सो कार्यक्रममा राजपा आबद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर, शिर्षस्थ नेताहरु राजेन्द्र महतो, अनिल झा र शरतसिंह भण्डारी उपस्थिति रहेको थियो तर सपा आबद्ध अध्यक्ष उपेन्द्र यादव, हाल उनको समर्थक रुपमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादवको उपस्थिति रहेको थिएन ।
ईकागजद्वारा प्रकाशित आलेखमा भनिएको छ – पार्टी उच्च श्रोतका अनुसार सपा आबद्ध नेता, सांसद र मन्त्रीहरुलाई सो कार्यक्रममा निम्तो गरिएको थिएन । सोही कारणले सपा आबद्ध प्रदेश सांसदहरुको पनि उपस्थिति देखिएको थिएन ।

हुनत सपा आबद्ध मन्त्रीहरुले आफूलाई जानकारी भएपनि जनकपुरधाम बाहिर रहेको कारण उपस्थित हुन सकेनौं दाबी गरेका छन । पार्टी भित्र देखिएका तिक्ता र मतान्तरलाई दुवै पुर्व पार्टीका नेताहरुले वैचारिक द्वन्दको नाम दिई पन्छिन खोजेका छन । मंगलवार राजपा आबद्ध मन्त्री सोनलले आयोजना गरेको चियापान समारोह कार्यक्रम उदाहरण मात्र यसअघि सपा आबद्ध नेताहरुले धनुषाको हारसरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा राजपा आबद्ध नेताहरुलाई निम्तो गरिएको थिएन ।
पार्टी एकीकरण भए यतादेखि जसपाद्वारा आयोजित विभिन्न पार्टी प्रवेश, युवा, विद्यार्थी तथा महिना लगायतको भातृ संगठनहरुको कार्यक्रममा राजपाले गरेको आयोजनामा सपाको अनुपस्थिति र सपाले आयोजना गरेको कार्यक्रममा सपाको अनुपस्थिति रहदै आएको छ ।
पार्टी फुटको संकेत प्रतिनिधि सभा विघटन यता देखि सरकार गठनको विषयलाई लिएर केन्द्रिय समितिका नेताहरुले गरेको पछिल्लो राजनीतिक गतिविधिले प्रष्ट रुपमा देखा परेको छ । पुर्व राजपाले नेकपा एमाले नेतृत्वको ओली सरकारसँग जाने चाँजोपाँजोमा जुटेका छन भने सपा नेताहरुले ओली प्रतिगमनकारी रहेको भन्दै प्रतिवाद गर्दै आएका छन ।
केन्द्रिय राजनीतिकको प्रभाव प्रदेश र स्थानीय तहमा समेत देखिएको छ । दुवै पुर्व पार्टीका नेता तथा सरकारमा आबद्धमा पदाधिकारीहरुले एक अर्कालाई आ आफ्नो कार्यक्रममा सहभागिता गराउने गरेको छैन । पार्टी तह बाहेक भातृ संगठनहरुले गरेको क्रियाकलापले समेत पार्टी भित्र दुई धार रहेको प्रष्टै देख्न सकिन्छ । पछिल्लो पटक सम्पन्न भातृ संगठनहरुको निर्वाचनमा देखिएको ओली नेतृत्वको एमालेसँग सहकार्य सपाको सहमति बिना अघि बढेका छन ।

जसपाका प्रदेश २ को रुपमा रहेका तराई मधेश प्रदेश समितिका सचिव एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पार्टी भित्र वैचारिक द्वन्द भएपनि फुटको कुनै संकेत नरेको दाबी गरे । उनले भने लोकतान्त्रिक पद्धतिमा हरेक पार्टी भित्र वैचारिक द्वन्द हुन्छ, त्यो हुन पनि जरुरी छ । जहाँसम्म मन्त्री सोनलले आयोजना गरेका चियानपान समारोह कार्यक्रममा आफूहरु बाहिर रहेको कारण उपस्थिति हुन सकेनौं ।
त्यस्तै राजपा आबद्ध सांसद एवं प्रदेश प्रमुख सचेतक परमेश्वर साहले पनि पार्टी भित्र वैचारिक द्वन्द रहेपनि फुटको संकेत नरहेको बताएका छन । उनले भने जसपाको ब्यानरमा आयोजित कुनैपनि कार्यक्रम पार्टीको अधिकारिक नै हुन्छन । जहाँसम्म आतिथ्य वा उपस्थितिको कुरा छ त्यो पुर्वपार्टीको आस्थासँग जोडिएका व्यक्ति सहभागी हुन्छन । यसले पार्टी फुटदैन झन मजबूत भएर जान्छ ।
जसपाका नेता तथा मन्त्रीहरुले आफूहरु भित्र कुनै मनमुटाव नरहेको दाबी गरेपनि एकअर्काको अस्तित्व स्वीकार्ने पक्षमा छैन । जसको ज्वलन्त उदाहरण हो प्रदेश २ मा एकीकरणपछि नयाँ संसदीय दलको नेता चयन गर्न नसक्नु । पार्टी एकीकरणको एक वर्ष बितिसक्दा पनि दुवै दलका छुट्टाछुटट्टै दलको नेता र प्रमुख सचेतक भई सेवा सुविधा लिंदै आएका छन । दलको नेता चयन भएपछि पद गुम्ने डरले एकअर्कालाई छल्दै आएका छन ।
पुर्व राजपाबाट जितेन्द्र सोनल दल र सपाबाट लालबाबु राउत दलको नेता छन । राजपाबाट सोनल भौतिक पुर्वाधार विकास मन्त्री छन भने सपाबाट राउत मुख्यमन्त्री रहेका छन । (साभार : ईकागज)

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !