जनकपुरधाम, चैत ३१ गते । प्रदेश २ का विभिन्न जिल्लामा सवारी दर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
मंगलवार ट्रकको ठक्करबाट महोत्तरीमा एकजना र टयाक्टरको ठक्करबाट सर्लाहीमा २ जनाको मृत्यु भएको हो ।
जिल्लाको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ ।
सिन्धुलीबाट भिमान तर्फ गइरहेको ना १ क ८४५० नम्बरको ट्रकले बर्दिबास तर्फ आइरहेको बा २ ग ९३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ सुनसरी जिल्लाको कालेपोखरी गाउँपालिकाका ३० वर्र्षीय नरेन्द्र दुलालको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडी सवार २७ वर्षीय केदार वास्तोला गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसैगरी सर्लाहीको बागमती नगरपालिका ८ गाँजली चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी मोटरसाइकलमा सवार बरहथवा नगरपालिका वडा नं. १५ पिपराभित्ताका ४५ वर्षीय भिखारी सहनी र मोरसाइकलको पछाडी सवार रौतहटको परोहा नगरपालिका वडा नं. ९ मा बस्दै आएका भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको कुरा सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन ।
मंगलबार दिउँसो करिब ३ बजे गाँजली चोक स्थित सोल्टी बजारबाट हजरिया तर्फ जाँदै गरेको बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई बागमती खोलाबाट बालुवा बोकि बरहथवा तर्फ आँउदै गरेको ज१त १५७४ नं.को ट्याक्टरले ठक्कर दिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !