जनकपुरधाम, चैत २८ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको नयां नेतृत्वका निर्वाचन शनिवार सम्पन्न भएको छ ।
शनिवार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म जनकपुरधाम स्थित गाेपाल धर्मशाला जारी मतदानमा मतदाताहरुले मत खसालेका छन ।
संघमा आबद्ध ५ हजार २७ मतदाता मध्ये साे मतदानमा ४ हजार ३ सय ११ जना मतदाताले मतदान गरेकाे कुरा निर्वाचन समिति संयोजक संतोषकुमार साहले जानकारी दिएका छन ।
संयोजक साहका अनुसार मतदान सम्पन्न गराउनका लागि ३ वटा पोलिंग वुथ राखिएको थियो भने ५० जना पोलिंग एजेण्ट खटाइएकाे थियाे भने मतगणना राति ९ बजेबाट शुरु भएकाे छ ।
संघको अध्यक्षमा जितेन्द्र महासेठ र जितेन्द्र प्रसाद साहले उम्मेदवारी दिएका छन । महासेठ संघका वर्तमान महासचिव हुन् भने साह वरिष्ठ उपाध्यक्ष । महासेठलाई जनता समाजवादी पार्टी र नेकपा एमालेका नेताहरुको समर्थन रहेकाे छ भने साहले नेपाली कांग्रेसको साथ पाएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा व्यवसायी मनिष रमन साह र सुरेन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । साह र भण्डारी दुवैले निर्वाचन जित्न ठूलो रकम खर्चेका छन् । साहलाई कांग्रेस र भण्डारीलाई एमालेको समर्थन छ ।
त्यस्तै एक उपाध्यक्षका लागि सात जना उम्मेदवार चुनावी मैदानमा छन् । श्यामप्रसाद साह, संतोषकुमार साह, लक्षमण साह, अनिलकुमार प्रधान, अम्भु प्रसाद साह, रमेशकुमार यादव र फुलगेन साह उपाध्यक्षका उम्मेदवार हुन् । महिला उपाध्यक्षमा दिपिका राय निर्विरोध निर्वाचित भइसकेकी छन् ।
यस्तै महासचिवमा सात उम्मेदवारबीच प्रतिस्पर्धामा छन् । महासचिव बन्न कृष्णमुरारी साह, रामकुमार महासेठ, अशोककुमार चौधरी, सुधीर पञ्जियार, मनोजकुमार साहसहित चुनावी मैदानमा छन् ।
सचिवका लागि गोपी कुमार साह, संतोष कुमार महासेठ र फुलदेव पण्डितले प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा रमेश्वर साह, मनोजकुमार शर्मा र विजयकुमार साहबीच प्रतिस्पर्धा छ ।
एशोशिएट सदस्यमा राजिव कुमार साह निर्विरोध निर्वाचित भइसकेका छन् । एक महिला सदस्यका लागि सरिता ठाकुर र माया कुमारीबीच प्रतिस्पर्धा छ । कार्यकारी सदस्यका लागि ११ जनाबीच प्रतिस्पर्धा छ ।
जनकपुरस्थित गोपाल धर्मशालामा भइरहेको निर्वाचनमा उम्मेदवारहरुले प्रचारमा करोडौं रुपैयाँ खर्च गरेका छन् । उद्योग वाणिज्य संघको मतदानस्थल पर्चा पम्पलेटले भरिएको थियो ।
रामचोकमा करिब ५ सय मिटरमा उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्नका लागि पर्चा पम्पलेट झुण्ड्याएका थिए । यसरी पर्चा पम्पलेटमै उम्मेदवारहरुले लाखौको रकम खर्चेको पाइएको छ ।
सार्वजनिक ठाउँमा प्रचार सामग्री टाँस्न निर्वाचन आचार संहिताले रोक लगाएपनि उम्मेदवारले आचार संहिताको पालना गरेकाे पाइएन।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !