जनकपुरधाम, चैत १८ गते । महोत्तरीबाट एकै साथ एकै टोलकी ७ जना किशोरी तथा बालिका बेपता भएकी छिन ।
जिल्लाको भंगहा नगरपालिका ८ स्थित धर्मपुर टोलका ७ जना बालिका तथा किशोरीहरु घाँस काट्न गएकी अवस्थामा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बेपत्ता हुनेहरूमा २० वर्षीया अस्मिता पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जन पासवान र ११ वर्षीया अर्चना पासवान रहेका प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो करिब १ बजे सँगै घाँस काट्न निस्केका ती किशोरी तथा बालिकाहरु राति १२ बजेसम्म घर नफर्केको भङ्गहा नगरपालिकाका मेयर संजिव कुमार साहले जानकारी दिएका छन् । उनीहरू सबैजना एउटै टोलको रहेको मेयर साहले बताए ।

मेयर साहले भने, उनीहरू सबैजना प्रायःजसो समूहमै घाँस काट्न चौरमा जान्थे र साँझसम्म आ–आफ्नो घर फर्किहाल्थे तर मंगलवार अबेर रातिसम्म घर न फर्केपछि घटना सार्वजनिक भएको हो ।
बेपता भएको घटना थाहा पाए लगतै प्रहरीसंग समन्वय गरि नगरपालिकाले खोजविन गरिरहेको बताउंदै उनले भने बेपता भएका किशोरी तथा बालिकाहरु घर नफर्किदा चिन्तामा परिवारजनमा रुवाबासी सुरु भएको छ भने गाउँले त्रसित बनेका छन् ।
उता महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरुको खोजी गर्न प्रहरी टोली खटाइ सकिएको बताएका छन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँका करिव डेढसय युवाहरु मिलेर मध्यरातसम्म उनीहरुको खोजी चारैतर्फ गरेका थिए तर फेला पर्न सकेन ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !