जनकपुरधाम, चैत १७ गते । प्रहरीले सिरहाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाका आरोपित मध्ये दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार होलीको दिन सिरहाको सुखीपुरबाट प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले तिनीहरुलाई पक्राउ गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गरी पक्राउ पर्नेहरुमा जिल्लाको सुखीपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ बस्ने २६ वर्षीय अभिमन्यु गिरी रहेको जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका यादवको साथबाट १ थान कटुवा पेस्तोल २ राउण्ड गोली बरामद भएको छ भने गिरिको साथबाट समेत एकथान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरिएको जनाइएको छ ।
गत चैत १ गतेका दिन सिरहाको लहानमा स्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुँदा करिब ८ जना घाईते भएका थिए । भने कार्यालयमा रहेको कागजातहरु समेत जलेको थियो । सो घटनाको जिम्मेवारी गोइत समूहका जनतान्त्रिक तराई मुक्ति मोर्चाले जिम्मा लिएको थियो ।
यादव यसअघि पनि विभिन्न ठाउँमा भएको बम विस्फोट संलग्न रहेको आरोपमा पक्राउ परिसकेको र पटक पटक धरौटीमा रिहा भइसकेको प्रदेश प्रहरीको भनाई छ । प्रदेश प्रहरीका अनुसार २०७४ साल चैत १२ गते लहानमा रहेको विकास ज्वेलर्समा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका थिए सो बेला उनी रु. १ लाख धरौटी बुझाएर रिहा भएको थियो । त्यसपछि ०७५ सालमा समेत उनी विराटनगर उपमहानगर पालिकाको कार्यालयमा बम विस्फोट गराएको आरोपमा समेत पक्राउ परेका थिए । जिल्ला अदालत मोरंगमा ३५ हजार रुपैँया बुझाएर धरौटीमा छुटेका हुन् ।
अभिमन्यु भने विगत ५ वर्षदेखि तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोईत समुह)मा आवद्ध रहेको र उनी बल प्रयोग गरी चन्दा उठाउँदै आएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका दुबै जनाले बम विस्फोटको घटनामा आफुहरुको संलग्नता रहेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा जयकृष्ण गोइतको निर्देशनमा भगवान गाउँपालिका ठाडी निवासी रामकुमार यादवले गएको फागुन २६ गते नै दिएको बम आफू मालपोत कार्यालयमा विस्फोटका लागि राखेको कुरा दुवै आरोपितले स्वीकार गरेको भनिएको छ । घटनामा रामकुमार भनिएका आरोपित अहिले फरार नै छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !