जनकपुरधाम, चैत १३ गते । ट्रकको ठक्करबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा कार्यरत एक असईको धनुषामा मृत्यु भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका १० स्थित लालगढमा ट्रकले ठक्कर दिंदा असई मदनजंग कापरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुक्रवार बिहान करीब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरतर्फ आइरहेको क्रममा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको कुरा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताएका छन ।
ठक्कर दिई घटनास्थलबाट फरार भएका ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइसकेको कुरा जिल्ल प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन ।
उनका अनुसार महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी मृतक असई कापर प्रदेश २ सरकारको मुख्यमन्त्री मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत थिए । घटना पश्चात असई कापरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !