जनकपुरधाम, चैत ९ गते । नेपाली कांग्रेसका नेता एवं धनुषा सांसद प्रेमकिशोर साहकी छोरी प्रेक्षा साह भारतीय नागरिक रहेको नक्कली प्रमाण पेश गरी मेडिकल पढेको खुलासा भएको छ ।
नेपाली नागरिक भएरपनि चिकित्सा अध्ययन भारतीय नागरिक बनेर गरेको र नेपाली नागरिक भनी मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरी गर्दै आएकी नेता साहका छोरी प्रेक्षा सहित १२ जना नेपाल केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धान को दायरामा परेको छ ।
वीरगञ्जको एमबी केडिया डेन्टल कलेजमा अध्ययन गर्न प्रेक्षा साह सहित भारतीय बनेका १२ जना अहिले सीआईबीको छानबिनको दायरा रहेको सीआईबी श्रोतले जनाएको छ ।
धनुषाको जनकपुरधाम नगरपालिका ४ निवासी भएकी प्रेक्षा नेपाली नागरिक भए पनि भारतीय बनेर एमबी केडियाबाट एमबीबीएस गरेकी हुन । अध्ययन पूरा गरेपछि भने उनले आफू नेपाली नागरिक भएको भन्दै नेपाली नागरिकको परिचयपत्र पेस गरेर लाइसेन्स लिइन् । नेपाल मेडिकल काउन्सिलले दिएको उनको लाइसेन्स नम्बर हो, १३०४१ रहेको छ ।
छोरीले डाक्टर पढ्नलाई प्रवेश परीक्षा पास गर्न नसक्ने भएपछि साहले भारत सरकारबाट जारी आवासीय प्रमाणपत्र पेस गरेर छोरीलाई भारतीय बनाई अध्ययन गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ।
डाक्टर अध्ययन गर्ने बेला पेस भएको कागजातमा प्रेक्षाको ठेगाना मोतिहारी, भारत उल्लेख छ । तर मेकिडल काउन्सिलबाट लाइसेन्स लिने बेला पेस गरेको कागजातमा भने धनुषा जनकपुरधाम नगरपालिका–४ उल्लेख गरेकी छिन ।
प्रेक्षा मात्र होइन पर्साको वीरगञ्ज उपमहानगरपालिका–१३ का शशिकान्त चौधरी पनि एक दशक अघि एमबी केडियाबाटै भारतीय नागरिक बनेर बिडिएस अध्ययन गरेका छन । प्रवेश परीक्षा छल्न उनी राजस्थानको फत्तेपुरकी वनारसी देवीको धर्मपुत्र बनेर उनी केडियामा भर्ना भएका थिए।
पछि लाइसेन्स लिने बेला भने उनले जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको नागरिकता पेस गरेका थिए। चौधरीको काउन्सिलमा दर्ता भएको लाइसेन्स नम्बर १३४६३ रहेको छ ।
त्यस्तै बीरगञ्जका पुष्कर कुमार तिवारीले पनि एमबी केडिया डेन्टल कलेजमा भारतको बसन्तपुर थाना क्षेत्रका कमलदेव मिश्रको ‘भोटर कार्ड’ पेस गरेर अध्ययन गरे । त्यसपछि लाइसेन्स लिने बेला भने जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्जबाट जारी गरिएको नागरिकता पेस गरेको पाइएको छ ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीका अनुसार महोत्तरीको साविक लोहारपट्टी गाविस–३ का डा. रोशनकुमार साह (मेडिकल काउन्सिल दर्ता नम्बर १३२३४), बाराको साविक तेलकुवा गाविस–८ की डा प्रतिमाकुमारी यादव (मेडिकल काउन्सिल दर्ता नम्बर १४८७५), पर्साको साविक अलौ गाविस–१ का डा धनंजयकुमार माली (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९४), उदयपुरको त्रियुगा नगरपालिका–१ का डा रजनिश खड्का (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९६) माथि पनि अनुसन्धान भइरहेको छ । तिनीहरु पनि भारतीय नागरिकको प्रमाण पेश गरी अध्ययन गरेका हुन ।
त्यस्तै, रौतहटको साविक सठिया गाविस–६ की डा विनिता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९७), महोत्तरीको साविक भरतपुर गाविस–९ का डा सिताराम सिंह कुशवाहा (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६१), महोत्तरीको साविक इटहर्वा गाविस–६ की डा कविता सिंह (मेडिकल काउन्सिल दर्ता नम्बर १५५६२), सिरहाको साविक वरियापट्टी गाविस–५ का डा दीपककुमार शर्मा (दर्ता नम्बर १५५६३), रौतहटको साविक ब्रम्हपुरी गाविस–२ का डा अजयकुमार अस्थाना (मेडिकल काउन्सिल दर्ता नम्बर १७९९५) माथि अहिले अनुसन्धान भइरहेको छ । उनीहरुले पनि अध्ययन भारतीय र लाइसेन्स नेपाली भनि लिएका हुन ।
सिआइबी स्रोतका अनुसार यो विषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको र किर्तेमा मुद्दा चलाउन सक्ने गरी प्रमाण जुटाउने काम भइरहेको छ । गत पुस १० गते पुनः सूचना जारी गर्दै काउन्सिलले उनीहरुलाई ३० दिनभित्र सम्पूर्ण सक्कल शैक्षिक प्रमाणपत्र, नागरिकता, काउन्सिलबाट प्रदान गरिएको प्रमाणपत्र लगायत लिएर उपस्थित हुन भनेको थियो । उनीहरु उपस्थित भएपनि अहिलेसम्म कारबाहीको प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा ‘फेल’ हुने क्रम बढेको बेला २०६४ सालदेखि विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा नदिनुपर्ने प्रावधान लागू भएपछि नेपाली नागरिकहरुले भारतीय नागरिक बनेर प्रवेशको क्रम बढेको छ ।
नेपालको विश्वविद्यालय वा प्रतिष्ठानको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने वा सम्बन्धित देशको मेडिकल प्रवेश परीक्षा पास भएको हुनुपर्ने व्यवस्था सन् २०१७ पछि लागू भएपछि यो नेपाली विद्यार्थीलाई विदेशी बनेर मेडिकल अध्ययन गर्नुपर्ने विकृति अन्त्य भएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !