जनकपुरधाम, फागुन १७ गते । व्याप्त रहेकाे दाइजो प्रथा उन्मूलन गर्ने प्रयास स्वरूप महोत्तरीको पिपरा गाउँपालिकाद्वारा सामुहिक वैवाहिक कार्यक्रम गरिएकाे छ ।
गाउंपालिका अध्यक्ष कन्यादान नाम दिइएकाे कार्यक्रम मार्फत वैदिक परम्परा र हिन्दु रितीरिवाज अनुसार साेमवार सम्पन्न साे वैवाहिक कार्यक्रममा उमेर पुगेका ७ जाेडी वरबधुकाे विवाह सम्पन्न भएकाे हाे ।
गाउँपालिकास्थित एक विद्यालयमा आयोजित वैवाहिक कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका ७ जोडी वरवधुको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिएका छन ।
वरवधु जाेडीकाे कपडालता, मण्डप तथा पण्डाल सजावट, परम्परा अनुसार बेहुला पक्षबाट गएका जन्ती र बेहुली पक्षका व्यक्ति खानपीन अतिथी सत्कार लगायतकाे व्यवस्थापन गाउंपालिकाबाटै गरिएकाे थियाे भने वधुकाे गरगहना र विवाह पछि विदाईमा दिइने दराज, पलंग लगायतका सामानहरु समेत उपहार स्वरूप दिइएकाे अध्यक्ष चाैधरीले बताए ।
दाइजोप्रथाका कारण सवैभन्दा बढी पीडित आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्नहरुका छाेराछाेरीहरू विवाहमा कुनै समस्या नहाेस उद्देश्यले कन्यादान योजना ल्याइएकाे र याे निरन्तर चलिरहनेछ उनले बताए ।
उनले भने ‘यस वर्ष ७ जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।
वैवाहिक कार्यक्रममा परम्परालाई ख्याल गर्दै हिन्दु वैदिक अनुसार मिथिला क्षेत्रमा प्रयाेग हुने सम्पुर्ण रितिरिवाज अपनाइएकाे थियाे भने वधुकाे कन्यादान गाउँपालिका अध्यक्ष चौधरीले गरेका थिए ।
सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । उनले जनाए अनुसार वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । यस अघि वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर विधि समेत सम्पन्न भएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !