जनकपुरधाम, फागुन १७ गते । प्रत्येक वर्ष कात्तिक शुक्ल र चैत शुक्ल गरी दुई वटा दशैं पर्ने गरेको छ । तर आगामी वर्ष वि.सं २०७८ मा तीन दशैँ परेको छ ।
सो वर्ष कात्तिक शुक्लमा एक र चैत्र शुक्ल पक्षमा दुई वटा चैते दशैँ परेको छ भने यस वर्षमा कात्तिक शुक्लमा मात्र एउटा दशैं परेको छ । चैत महिनामा मनाइने दशैं आगामी वर्षको वैशाख महिनामा पर्न गएको हो ।
आगामी वर्ष वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ भने बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ ।
सो वर्ष असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुने समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताएका छन् ।
दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !