जनकपुरधाम, फागुन १३ गते । सिरहाको लक्ष्मीपुर गाउँपालिका स्थित एक विद्यालयमा विद्यार्थीहरुले शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै तालाबन्दी गरेका छन ।
गाउँपालिकाको वडा नं. ५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरुद्वारा नै गरिएको तालाबन्दीले गत तीन दिनदेखि पठन पाठन पुर्ण रुपमा प्रभावित भएका छन ।
गत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कुरा विद्यार्थी जितेन्द्र यादवले बताएका छन ।
कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् । विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् ।
विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक शिवनारायण यादवले बताए । यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गरे ।
लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताए । कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयका ८ सयभन्दा बढी विद्यार्थीको पठन पाठन प्रभावित भएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !