जनकपुरधाम, फागुन ६ गते । वृद्धाहरुलाई सहारा दिने जनकपुरधाम स्थित श्री जानकी वृद्धाश्रम प्रदेश २ सरकारको बेवास्ताले आफै सहारा खोज्दैछ ।
वृद्धाहरुको आश्रय स्थलको रुपमा विस.सं. २०५३ सालदेखि संचालित जानकी वृद्धाश्रम देश संघीयतामा गएपछि सहाराको खोजीमा लागेका छन । सहारा बिहीन भएको श्री जानकी वृद्धाश्रम गत दुई वर्षदेखि कति बेला कुन दाताले के सहयोग गर्ला भनी आशमा पर्खेका छन ।
नेपाल सरकारको अनुदानबाट संचालन हुँदै आएका ती वृद्धाश्रम प्रदेश सरकारको जिम्मा गएपछि दुई वर्षदेखि सहयोग रकमको पाउन सकेको छैन । राज्य पक्षबाट संचालन खर्च सहयोग बन्द भएपछि वृद्धाहरुको भरनपोषण गर्न निकै कठिनाई भएको संचालक समिति बताउँछन ।
दुई दशकभन्दा पुरानो सो वृद्धाश्रमलाई नेपाल सरकारबाट वार्षिक ४/५ लाख रुपैया स्थापनाकालदेखि नै संचालनका लािग आर्थिक सहयोग पाउने गथ्र्यो । तर तर देश संघीयतामा गएपछि न त प्रदेश सरकारले कुनै सहयोग गरेको छ न स्थानीय सरकार नै ।
जनकपुरधाम ८ स्थित रामानन्द चौक नजिक अढाई कट्ठा क्षेत्रफलमा दुई तल्ले भवनमा संचालित ती जानकी वृद्धाश्रम राज्य पक्षले बेवास्ता गरेपछि मारवाडी सेवा समिति लगायतका सामाजिक संस्था सहितका दाताहरुको भरमा जेनतेन संचालन हुँदै आएका संचालक समितिले बताएका छन ।
प्रदेश सरकारले बेवास्ता गर्दै
वृद्धाश्रमका संचालिका सीता अधिकारीले भनिन् स्थापनाकालदेखि २०७४ सम्म नेपाल सरकारबाट संचालनका लागि वर्षिक ४/५ लाख रुपैया संचालनका लागि वार्षिक सहयोग पाउंथ्यो, त्यसपछि निकै हार गुहारपछि २०७५ सालमा सामाजिक विकास मन्त्रालयबाट ४ लाख रुपैया पायौं जुन साढे ३ लाख शौचालय र भवन मरम्मत मै खर्च भयो ।
त्यसपछि पटक पटक मन्त्रालयमा गएर सहयोगका हार गुहार गर्दा थाकि सके तर कुनै सहयोग पाएनौं । मन्त्रालयमा सहयोगका लागि आग्रह गर्दा मन्त्री र सचिव लगायतका पदाधिकारीले भवनका लागि हामी बजेट दिन सक्छौ, संचालनको व्यवस्था आफै गर्नुस भन्दै फर्काउने गरेका छन ।
मन्त्रालय मात्र होइन स्थानीय तह जनकपुरधाम उपमहानगरपालिकालाई समेत पटक पटक सहयोगका लागि आग्रह गरयौं तर गरेनन् भन्दै उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नगरसभाबाट पास गर्नुपर्छ भन्दै टाल्दै आएको उनले दुखेसो सुनाईन । राज्य पक्षले उपेक्षा गरेपनि विभिन्न सामाजिक संस्थाले बेला बेलामा गरेको सहयोगले जेनतेन संचालन हुंदै आएको छ ।
मन्त्रीलाई संचालनभन्दा भवनको चटारो
उता सामाजिक विकास मन्त्री नवल किशोर साहसँग जिज्ञासा राख्दा भने एक पटक त ४ लाख रुपैया सहयोग गरी नै सकेका छौं । दिनहुँ भीख मांग्ने जस्ता समस्याको दिर्घकालिन स्थायी समाधानका लागि भवन बनाई दिने सोच ल्याएका छौं ।
उनले भवन प्रत्येक वर्ष रकम दिनुभन्दा राम्रो प्रदेश सरकारले भवन निर्माण गरिदिंदा त्यसलाई भाडा लगाएर घरभाडाबाट आएका रकम संचालन गर्न सकिन्छ । तर प्रत्येक वर्ष रकम हामी दिन सक्दैनौ भन्दै चालु आर्थिक वर्षमा २० लाख रुपैया भवनका लागि छुटयाइएको बताए ।
वृद्धाश्रमको अवस्था
नेपाली कांग्रेसकी लीला कोइराला महिला, बालबालिका तथा समाज कल्याण मन्त्री रहेको बेला २०५३ सालमा जनकपुरधाममा जानकी वृद्धाश्रम संचालनमा आएको थियो ।
जनकपुरधाम वडा नम्बर १ भानु चौकमा दुई कोठे घर भाडामा लिई संचालनमा आएको सो वृद्धाश्रम अहिले वडा नम्बर ८ स्थित गुठीको अढाई कट्ठा जग्गामा दाताहरुको चन्दा संकलनबाट दुई तल्ले भवन निर्माण भई संचालन हुदै आएका छन ।
सो वृद्धाश्रममा हाल धनुषा, महोत्तरी, सर्लाही, बारा र भैरहवा लगायतका जिल्लाका आफन्तबाट बहिष्कृत, सन्तानविहिन सहितका १८ जना बेसहारा वृद्धा आश्रय लिई बस्दै आएका छन । तिनीहरुको खानपीन र बिरामी पर्दा औषधोपचार संचालक समितिद्वारा गरिदै आएको छ ।
वृद्धाश्रममा बस्दै आएकी वृद्धाहरुको सेवा सुसार र हेरचाहका लागि ६ जना कर्मचारी खटदै आएका छन । सो वृद्धाश्रममा खटिने कर्मचारीहरु मध्ये स्वीपर साढे सात सय, बर्तन माझ्ने एक हजार, भान्से दुई हजार र सेवा सुसारका लागि मात्र ४ हजार रुपैया तलब रहेको छ । न्यून तलब रहेपनि गत दुई वर्षदेखि तिनीहरु पाउन सकेका छैनन् ।
कर्मचारी तलब, वृद्धाहरुको खानपीन र औषधि लगायतमा मासिक ६० हजार रुपैयासम्म खर्च हुँदै आएको छ । गत दुई वर्षदेखिको सहयोग रकम आउन नसकेपछि करीब ७÷८ लाख रुपैया बक्यौता रहन गएको छ जसको ताकेता दिनहुँ आउने गरेको अधिकारी बताईन ।
संचालक समितिका कोषाध्यक्ष ललित बजाजले भने वार्षिक एक÷डेढ लाख रुपैया बराबरको फलफूल, हर्लिक्स र लताकपडा लगायतका सहयोग मारवाडी सेवा समिति लगायतका दाता संस्थाहरुबाट हुँदै आएको छ । तर दैनिक खानपनी र कर्मचारी लगायतका खर्च जोहो गर्न निकै समस्या भएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !