जनकपुरधाम, फागुन ४ गते । प्रदेश २ का प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री केपीशर्मा ओलीभन्दा ठूलो भ्रष्टाचारी र गफाडी प्रदेश २ सरकार निस्केको संज्ञा दिएका छन ।
प्रदेश २ सरकाले तीन वर्ष पुरा गरेको अवसरमा सरकारले गरेका उपलब्धीमूलक कार्यहरुको समीक्षा गर्दै प्रतिपक्षी दलका नेताहरुले ओलीभन्दा ठूलो गफाडी प्रदेश सरकारका मन्त्रीहरु निस्केको बताए ।
उनीहरुले प्रदेश २ सरकारले गरेको कामहरु बारे गराएको जानकारी नेता कार्यकर्ता पाल्ने र कमीशनका लागि वितरण गरिएको टुक्रे योजना बाहेक केही होइन बताएका छन । प्रदेश सरकारले उपलब्धीका रुपमा भनेका योजनाहरु कमीशनका लागि गरिएको उपलब्धीमूलक कार्य रहेको उनीहरुको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (दाहाल नेपाल) समूहका संसदीय दलका नेता शत्रुध्न महतोले भने यो प्रदेश सरकार त ओलीभन्दा पनि ठूलो गफारी निस्केको छ । जनतालाई देखायो ठूलो सपना तर काम चाहिं जिरो, भएका कामहरु पनि अधिकांश कमीशनका लागि नेता कार्यकर्ताहरु मार्फत उपभोक्ता समिति बनाई गरिएको छ ।
नेता महतोले भने प्रदेश सरकारको तिन वर्षको उपलब्धी खासै हासिल गर्न सकेन । जनतालाई मधेश प्रदेश भनी तात्कालिन सत्तारुढ दलहरु आन्दोलनमा होम्याए । तर मधेश प्रदेश त के कुनै प्रदेश न दिई दुई नम्बरी प्रदेशमै सिमित राख्यो । विकासै विकासको सपना देखाउने प्रदेश सरकार शहीद परिवारलाई एक परिवार एक रोजगार, साना मmझौला उद्योग स्थापना, कृषिमा हरित क्रान्ति लगायतका ठूलठूला गफ गरे तर उपलब्धी कसैसँग लुकेको छैन ।
अर्का प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राम सरोज यादवले सरकारको तीनवर्षे कार्यकाललाई गफ र झुठको पोलिन्दाको संज्ञा दिएका छन ।
उनले भने पिछडिएको र आवश्यक क्षेत्रमा लगानी हुनुपर्नेमा त्यो नगरेर कमीशनका लागि आफ्ना दलका नेता कार्यकर्ताहरुको क्षेत्रमा तिनीहरु मार्फत नै उपभोक्ता समिति बनाएर काम गराएको हो, जुन बजेटको सदुपयोग होइन दुरुपयोग हो ।
नेता यादवले भने प्रदेश सरकारले गत तीन वर्षमा स्थानीय तहको वडाले गर्ने मठ मन्दिर, पोखरीको सौन्दर्यकरण, पिसिसी ढलान, ग्राभेल लगायतका खुद्रा काम बाहेक अरु केही काम गर्न सकेको छैन । प्रदेशका जनताले प्रत्यक्ष रुपमा लाभान्वित हुन सक्ने वा तिनीहरुको जिविकोपार्जनमा सहजता पुग्ने एउटा पनि कार्य भएको देखिएको छैन ।
प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले कोभिड नियन्त्रणको नाममा मास्कदेखि लिएर पिसीआर मेसिन लगायतका सामाग्री खरीद र क्वारेन्टाइन तथा आइसोलेशनको नाममा करोडौ रकम भ्रष्टाचार भएको छ । भ्रष्टाचारको छानबीनका लागि मिडिया र प्रतिपक्षी दलहरुले आवाज उठाए पनि सरकारले चासो लिएन ।
बेटी बचाउ बेटी पढाउ कार्यक्रमलाई प्रदेश सरकार ठूलो उपलब्धीको रुपमा गनाई रहेका छन तर जहिलेदेखि ती कार्यक्रम शुरु भयो त्यस बेलादेखि प्रदेशमा बलात्कार लगायतका महिला हिंसा झन बढेको छ, शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी गठन भएपनि अपराधिक क्रियाकलाप छन बढेको छ ।
त्यस्तै प्रतिपक्षी नेकपा (ओली) समूहका प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले कमीशनका लागि खुद्रा योजनामा प्रदेश सरकार सिमित हुन गयो बताउंछन । उनले भने प्रदेशको गौरान्वित हुने खालको एउटा पनि योजना संचालन अहिलेसम्म आएको छैन, छ भने सरकारले देखाउनु परयो ।
सरकारको ठूलो उपलब्धी प्रदेशको नाम र राजधानी थियो । तर तीन वर्ष बितेपनि आजसम्म टुग्याउन सकेन । प्रदेशको नाममा विवाद रहेपनि राजधानीमा सबै दल एकमत भएपनि सत्तारुढ दलकै अवरोधले जनकपुरधाम अहिलेसम्म स्थायी राजधानी बन्न नसकेको आरोप लगाए ।
नेता मण्डलले चुरे क्षेत्रमा ५ करोड लगानी गरेपनि त्यसबाट कस्तो परिणाम आए जनता अहिलेपनि अनभिज्ञ छन, ठूलो सफलताको रुपमा भनिएका बेटी बचाउ अभियानमा साईकल वितरण र दुई÷चार रुपैया बाँडेरसस्तो लोकप्रियता कमाउन बाहेक केही होइन, अब कसैले यसलाई उपलब्धी ठान्छन भने त्यो भूल मात्रै हो ।
प्रदेश सरकारले स्थापना लगतै दुई सातापछि सार्वजनिक गरेको सय दिने कार्ययोजना आजसम्म पुरा हुन सकेको छैन । ती कार्य योजनाबाट केही बुँदा नीति तथा कार्यक्रममा समेटिएपनि कार्यान्वयनमा आउन सकेन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !