काठमाडौ, माघ २७ गते । करीब २० वर्षदेखि रोकिएको भन्सार एजेन्टको नयाँ लाइसेन्स यही आर्थिक वर्षभित्र जारी हुने भएको छ ।
अघिल्लो वर्ष नै विभागले परीक्षा सञ्चालन गर्ने तयारी गरेको भएपनि कोभिड–१९ महामारीको रोकिएको थियो । तर संक्रमण दर घट्दै गएको र खोप समेत आइसकेको दृष्टिगत गर्दै तयारी प्रक्रिया अघि बढाइएको हो ।
विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार सो तयारी अनुरुप १/२ चरणको छलफल समेत भइसकेको र विभागले नयाँ लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि समेत तयार गरिसकेको छ ।
उनले भने हामीले त्यो परीक्षाका लागि पाठ्यक्रम, कार्यविधि, परीक्षा सञ्चालन दिग्दर्शनहरु सबै तयार गरिसकेका छौं । अब सूचना निकाल्ने र परीक्षा लिने काम मात्रै बाँकी रहेको छ । सूचना निकालिने जानकारी उनले दिएपनि कहिले सूचना निकालिने भने टुंगो नलागेको बताए ।
संक्रमण घट्दै गएको र खोप आइसकेको अवस्थामा अब तत्कालै विज्ञापन खुल्ने सम्भावना रहेको भन्दै उनले लाइसेन्स परीक्षामा दशौँ हजार परीक्षार्थी सहभागी हुनसक्ने भएकोले यस्तो परीक्षालाई चुनौतीपूर्ण रहेकाले विभागले सतर्कता अपनाउने भने ।
कति संख्यामा लाइसेन्स वितरण गरिने
प्रवक्ता घिमिरेले दिएको जानकारी अनुसार देशभरमा करीब ८ सय संख्यामा लाइसेन्स वितरण गरिनेछ । त्यसमध्ये अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । अनुमानित आवश्यकता पूरा गर्न ६ सय जनाको हाराहारीमा कोटा तोकेरै नयाँ लाइसेन्स खुला हुनेछ ।
किन रोकिएको थियो लाइसेन्स
भन्सार एजेन्ट महासंघको कारणले लाइसेन्स वितरण संख्या रोकिएको थियो । महासंघमा आबद्ध सदस्यहरुले नयाँ एजेन्ट थपिएपछि कार्यरत एजेन्टहरुको रोजीरोटी गुम्ने भन्दै नयाँ भर्ना खुलाउने प्रक्रियाको विरोध गर्दै आएका थिए । तर विभिन्न पक्षको दबावपछि अहिले भने महासंघ आफै लाइसेन्स खुलाउनुपर्छ निष्कर्षमा पुगेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष भरतराज घिमिरेले भने आफूहरु नयाँ लाइसेन्स खुलाउनुपर्छ भन्ने पक्षमा छु तर पछिल्लो पटक आफ्नो कुरा नबुझेर सर्वसाधारण र विभागले आफूहरुलाई दोषी भन्दै आएको थियो ।
उनले भने नयाँ भन्सार एजेन्टको लाइसेन्स खोल्नुपर्छ भन्नेमा हाम्रो सहमति छ, तर व्यवस्थित तरिकाले मात्रै खोल्नुपर्छ । भन्सार एजेन्टको प्रतिनिधि भएर काम गरेका केही अरु मान्छे छन् । उनीहरुलाई एड्जस्ट गरेर व्यवस्थित गर्नुपर्ने हाम्रो मांग हो ।
एक देशबाट अर्को देशमा निकासी तथा पैठारी हुने वस्तुको भन्सार क्लियरेन्सका लागि त्यस्तो निर्यातकर्ता वा आयातकर्ता व्यक्तिले नियुक्त गर्ने आधिकारिक प्रतिनिधिलाई भन्सार एजेन्ट भन्ने गरिन्छ ।
ती एजेन्टले भन्सार सम्बन्धी कानूनको पालना गर्दै आयात निर्यातको काममा सहयोग गर्छन । क्रसबोर्डर तस्करी रोक्न, आयातीत वस्तुको शुल्क र ट्यारिफ व्यवस्थित रुपमा संकलन गर्न, बौद्धिक सम्पत्तिको अधिकार रक्षा गर्न, स्थानीय बजार तथा उपभोक्ताको हित रक्षा गर्न तथा अन्तर्राष्ट्रिय दायित्वहरु पूरा गर्नमा एजेन्टको भूमिका हुन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !