जनकपुरधाम, माघ २२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको समायोजनमा तात्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मात्र ७ जिल्लामा नेतृत्व पाउने भएको छ ।
समायोजनका लागि बनाइएको मापदण्ड अनुसार जिल्ला कमिटी नेतृत्वका लागि प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा पाएको मतको आधार तोकिएको छ । सो आधार अनुसार राजपाले मात्र ७ जिल्लामा नेतृत्व पाउने अवस्था देखिएको छ ।
माघ १९ गते समायोजनका लागि पठाएको सर्कुलर अनुसार जिल्ला, पालिका तथा वडा तहमा समायोजन गर्दा सहमतिको आधारमा गर्ने र सहमतिका आधारमा हुन नसकेका पालिका तथा वडाका लागि स्थानीय तहको चुनाव र जिल्ला कमिटीका लागि प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा पाएको मतलाई आधार मान्ने भनिएको हो ।
राजपा नेपालले स्थानीय तहको चुनाव प्रदेश २ मा मात्र लडेको थियो भने प्रतिनिधिसभा चुनावमा देशैभर भाग लिएको थियो । राजपा नेपालले प्रतिनिधिसभा चुनावमा समाजवादी पार्टीको जति मत ल्याएको थिएन । तर समाजवादी पार्टीमा बाबुराम भट्टराई, अशोक राई लगायत पहाडी क्षेत्रमा पकड भएको कारण त्यहाँपनि चुनाव लडेको थियो । जसमा राजपाभन्दा बढी मत ल्याएको थियो ।
समायोजन मापदण्ड अनुसार राजपा नेपालले ७७ जिल्लामध्ये सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी (पश्चिम), कैलाली र कञ्चनपुरमा मात्र नेतृत्व पाउने देखिन्छ ।
पूर्व राजपा नेपालले सप्तरी जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ८५ हजार ६९ मत ल्याएको थियो भने पूर्व समाजवादी पार्टी र नयाँ शक्ति मिलेर ८० हजार ७३१ मत ल्याएका थिए । त्यही भएर त्यो जिल्लामा राजपा नेपालले नेतृत्व पाउने भएको छ ।
त्यस्तै महोत्तरीमा पूर्व राजपा नेपालले एकलाख १७ हजार ७६८ मत ल्याएको थियो भने समाजवादीले ७० हजार ७२ मतमात्र ल्याएको थियो । सर्लाहीमा राजपा नेपालले एकलाख ५१ हजार ९४८ र समाजवादी पार्टीले ३१ हजार ७४१, रौतहटमा राजपा नेपालले ८५ हजार १४ र समाजवादी पार्टीले ४२ हजार ६९२, नवलपरासीमा (पश्चिम) मा राजपा नेपालले ३१ हजार ४३४ र समाजवादी पार्टीले पाँच हजार २३७ मत ल्याएको थियो ।
कैलालीमा राजपा नेपालले ५५ हजार ४०६ र समाजवादी पार्टीले १२ हजार ४९४ मत ल्याएको थियो भने कञ्चनपुरमा राजपा नेपालले दुईहजार ३७९ र समाजवादी पार्टी एकहजार २६३ मत ल्याएको थियो । त्यही भएर राजपा नेपालले सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी (पश्चिम), कैलाली र कञ्चनपुरमा मात्र नेतृत्व पाउने भएको छ । बाँकी ७० वटा जिल्लामा समाजवादी पार्टीले नेतृत्व पाउने देखिन्छ ।
पालिका, वडास्तरमा पूर्व राजपा र पूर्व समाजवादीका समितिहरु बीच आपसी सहमति गरी सोही बमोजिम ती समितिहरुलाई समायोजन गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । तर आपसी सहमतिका आधारमा समायोजन हुन नसके पछिल्लो स्थानीय तहको निर्वाचनमा पालिका, वडामा प्राप्त गरेको मत परिणामको आधारमा जुन पूर्वपार्टीले बढी मत प्राप्त गरेको छ, त्यसले नै पालिका, वडा समितिको अध्यक्ष पद प्राप्त गर्ने भएको छ । श्रोत : रातोपाटी

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !