जनकपुरधाम, पुस २५ गते । राष्ट्रिय एकता अभियानले नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने मांग गर्दै जनकपुरधाममा वृहत प्रदर्शन गरेका छन ।
शनिवार जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको सयौंको संख्यामा निस्केको रैली नगरको विभिन्नको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
सो कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी दलाल नेताहरुले डलरको लालचमा सनातन हिन्दु धर्मलाई समाप्त पारेर धर्म निरपेक्ष ल्याएको आरोप लगाए । उनले भने हामी संघीयता विरोधी होइनौं तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म र सभ्यतालाई समाप्त पारेर धर्मनिरपेक्ष व्यवस्थाको विरोध छौं । हाम्रो धर्म र पहिचानमाथि कसैले प्रहार गरे यो कतै बरदास्त हुने छैन ।
अध्यक्ष यादवले हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी रहने भन्दै यसमा सबै हिन्दु धर्मावलम्बीले सहयोग गर्नुपर्ने आग्रह गरे ।
कार्यक्रममा अभियानका उपाध्यक्ष सुनिता साहले संघीयता अवसरबाट वंचित रहेका मधेशी, आदिवासी जनजाति, दलित पिछडिएको वर्गको स्तरोन्नति, विकासमा पहुँचका लागि भनेर ल्याइयो तर अहिले त्यसको ठीक उल्टो तिनीहरुको नाममा सत्तामाथि आफ्नो अधिपत्य जमाउन प्रयोग गर्दै आएको आरोप लगाईन ।
त्यस्तै अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले धर्मनिरपेक्षको नाममा हिन्दुत्वलाई समाप्त पार्ने शासक वर्गको षडयन्त्र समाप्त पार्ने हाम्रो आन्दोलन जारी रहने चेतावनी दिए ।
यसअघि शुक्रवार राष्ट्रिय एकता अभियानले जनकपुरधाममै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेका थिए । सो सम्मेलन मार्फत मुलुकलाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि आन्दोलन सशक्त बनाउने निर्णय गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !