जनकपुरधाम, पुस १२ गते । गत सातादेखि प्रधानमन्त्री केपीशर्मा ओली विरुद्ध जारी जनता समाजवादी पार्टीको आन्दोलनमा प्रदेश २ सरकारले पनि आफ्नो सहभागिता जनाउन थालेको छ ।
संसद विघटन भएपछि जसपाले प्रम ओली विरुद्ध जारी राखेको विभिन्न आन्दोलनमा प्रदेश सरकारले आफ्नो सहभागिता जनाएको थिएन । तर आइतवार जनप्रदर्शनको अगुवाई नै गरेको हो ।
जनकपुरधामको जनक चौकमा आयोजित पुर्वनिर्धारित जनप्रदर्शन कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारको तर्फबाट सहभागिता जनाएको छ ।
मन्त्री सोनलको अगुवाईमा आयोजित सो जनप्रदर्शनको क्रममा निकालिएको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमै पुगी कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै मन्त्री सोनलले भने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटन घटना पुर्ण गैरसंवैधानिक र अलोकतान्त्रिक हो यसले निरकुंशताको पराकाष्ठा नाघेको छ ।
उनले प्रतिनिधसभा विघटन गरेर पूरै मुलुककै जनताको भविष्यसंग खेलवाड गर्ने प्रम ओलीको अलोकतान्त्रिक, निरकुंश कदम विरुद्ध सबै प्रजातान्त्रिक शक्ति एक भएर लड्नु पर्ने बेला आइसकेको भने ।
मन्त्री सोनलले पार्टी भित्रको आन्तरिक किचलोका कारण पूरै देशलाई बन्धक बनाउनु अनुचित रहेको भन्दै पार्टी विवादलाई लिएर देशमा हजारौको रगत बगाएर ल्याइएको संघियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई दाउमा लगाउनु कति उचित रहेका प्रतिप्रश्न गरे ।
सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद यादव, प्रदेश सभा सदस्य परमेश्वर साह लगायत जिल्ला, प्रदेश तथा केन्द्रिय स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !