जनकपुरधाम, पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गराएको कार्य गैरसंवैधानिक, अलोकतान्त्रिक रहेको धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले बताएका छन ।
आइतवार संसद विघटनपछि संचारकर्मीहरुसँग कुरा गर्दैै मेयर बरबरियाले संसद विघटनका लागि प्रम ओलीले चालेको कदम गैरसंवैधानिक, अलोकतान्त्रिक मात्र नभई निरङ्कुश र जनमत, परिवर्तन विरोधी प्रतिगामी रहेकोले लागू हुन नसक्ने दाबी गरे ।
उनले प्रम ओलीले चालेको गैर संवैधानिक कदम विरुद्ध सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर शक्तिहरु एकजुट भई प्रतिवाद गर्न अनुरोध गरेका छन ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओली नेतृत्व सरकारको निर्णयलाई स्थानीय सरकारले गैरसंवैधानिक कदम भन्दै यसविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन ।
प्रधानमन्त्रीको कदमबारे प्रतिक्रिया दिँदै मेयर बरबरियाले संघीय सरकारले संविधान विरोधी काम गरेको भन्दै आन्दोलन गर्ने बताए । ‘यो संघीय सरकारको अलोकतान्त्रिक र संविधानविपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ उनले भने ।
उनले संघीय सरकारको यो कदमलाई आफ्नो (स्थानीय) सरकारले असंवैधानिक ठहर गरेको भन्दै तत्काल कार्यपालिकाको बैठक बसेर संघीय सरकारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरी अघि बढ्ने बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !