जनकपुरधाम, पुस १ गते । जाडोले हुने सक्ने क्षति रोक्न जिल्ल विपद् व्यवस्थापन समिति धनुषाले पुर्व तयारी थालेको छ ।
स्थानीय तहका प्रतिनिधि सहित सरोकारवालाहरुको बैठकबाट जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले विपदबाट हुनसक्ने क्षति रोक्न आवश्यक पूर्वतयारीका कार्यक्रमहरु अगाडी बढाउने निर्णय गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जाडो सुरु भएपछि चिसो/शितलहर पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ स्वीकृत गरि यस योजनाको कार्यान्वयनका लागि सरोकारवाला सबै निकायलाई पठाउने निर्णय गरिएको जानकारी दिएका छन ।
शितलहरका कारण समस्यामा परेका जोखिमयुक्त लक्षित समूह र व्यक्तिहरुलाई विभिन्न समूह, संस्था वा व्यक्तिहरुबाट राहत सामग्री वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सहमति र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा मात्र गर्न आग्रह समेत गरिएको उनले बताए ।
यसका साथै शितलहरबाट बढि प्रभावित हुने र तातो कपडा एवं खाद्यान्नको उपलब्धता नहुने जोखिमयुक्त लक्षित वर्गको विवरण यथाशिघ्र उपलब्ध गराउन जिल्लाका सबै स्थानीय तहहरुसँग अनुरोध समेत गरिएको छ ।
जाडोयाममा हुस्सुको कारणले हुनसक्ने संभावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले सचेतनामुलक कार्यक्रम आयोजना गर्न निर्देशन दिइने समेत निर्णय समेत सो बैठकबाट गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !