जनकपुरधाम, मंसिर १४ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रका धार्मिक साँस्कृतिक धरोहरहरुको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको बनौलीस्थित विद्यापति डिहको लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको आइतबार एक कार्यक्रमका बिच शिलान्यास गर्दै मुख्यमन्त्री राउतले पहिचानको आन्दोलनको बलमा स्थापित प्रदेश सरकारले प्रदेश भित्रको धार्मिक, साँस्कृतिक सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
जानकी मन्दिरको सौन्दर्यीकरणबाट आफ्नो अभियानको शुरुवात गरेको प्रदेश सरकारले महोत्तरीको विद्यापति डिह, रौजा मजार, सप्तरीको छिन्नमस्ता भगवती लगायतका धार्मिक साँस्कृतिक सम्पदाहरुको संरक्षणमा स्थापनाकाल देखि नै प्रदेश सरकारले कार्य गर्दै आएको मुख्यमन्त्री राउतले बताए ।
उनले केहि संघसंस्थाले धनुषामा मात्र विद्यापतीको स्मृति दिवस मनाउँदै आएकोमा आगामी वर्षदेखि प्रदेश सरकारले प्रदेशको आठवटै जिल्लामा मनाउने घोषणा समेत गरे ।
प्रा.डा.गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेशसभा सदस्य परमेश्वर साह, रानी शर्मा तिवारी, मुख्यसचिव अर्जुन पोखरेल सहितका वक्ताहरुले विद्यापतिको स्मरण गर्दै प्रदेश सरकारको गतिविधिहरु बारे आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गरेका थिए ।
महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको १२ करोड ७२ लाखको योजना रहेकोमा ८ करोडको टेन्डर मात्र यस वर्ष भएको र बाँकी आगामी वर्षको योजनामा काम गरिने छ । सो पोखरी सौन्दर्यीकरण ३ वर्ष भित्र सम्पन्न गरिने लक्ष्य राखिएको जनाइएकोछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !