जनकपुरधाम, मंसिर ४ गते । अपहरण गरी फिरौती समेत लिएर हत्या गरेको आरोपमा फरार एक प्रतिवादीलाई ८ वर्षपछि महोत्तरी प्रहरी पक्राउ गर्न सफल भएको छ ।
जिल्लाको सोनमा गाउँपालिका ८ निवासी पंकज यादवको २०६९ साल चैत ४ का दिन अपहरण गरी हत्या गरेको आरोपमा फरार रहेका प्रतिवादी एकडारा गाउँपालिका ३ भटौलियाका जीवछ अन्सारीलाई सुराकीको आधारमा प्रहरीले बुधवार पक्राउ गरेका हुन ।
मोस्टवाण्टेडको सूचीमा रहेका सुराकीको आधारमा जलेश्वर नगरपालिका ३ सीमावर्ती क्षेत्र भिट्ठामोडबाट लुक्दै आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छन ।
अन्सारीलाई २०७२ साल जेठ १८ गतेका दिन जिल्ला अदालत महोत्तरीले अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार रुपैया जरिवाना सजाय तोकेको थियो । सो समयदेखि उनी फरार रहदै आएको थियो ।
पक्राउ गरिएका अन्सारीलाई आवश्यक थप कारवाहीका लागि अदालतको जिम्मा लगाइने कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले एक प्रेस विज्ञप्ति जारी जनाएको छ ।
धनुषाको सदरमुकाम जनकपुरधामको पिडारी चौकमा डेरा गरी कक्षा १२ मा अध्ययनरत पंकज यादवलाई २०६९ साल चैत १० गतेका दिन अपहरितका बुवा श्याम यादवसँग अन्सारी नेतृत्वको समूहले फिरौती लिए पश्चात हत्या गरेको कुरा विज्ञप्तिमा भनिएको छ ।
प्रहरीका अनुसार जनकपुर बस्दै आएका पंकजलाई घुम्न जाउँ भनी अन्सारीले फकाएर जलेश्वर स्थित रा.वि.म. क्याम्पसको चौरमा लगी लागू औषध सेवन गराई अचेत बनायो । फिरौतीको रकम लिई सकेपछि घटना लुकाउन सो समूहले जिल्लाको अन्कार स्थित रातो खोलामा लगी घाँटी रेटी हत्या गरेर शव गाडेको थियो ।
सो घटनामा सिरहा अर्नमाका गणेशकुमार सिंह, धनुषा भरतपुरका कुशेश्वर ठाकुर, सुखवा महेन्द्रनगरका बिकरु भन्ने कृष्णाकुमार पुर्वे, राजु सिंह र श्यामा मिश्रा समेतको संलग्नता रहेको प्रहरीको भनाई छ ।
आरोपित मध्येका बिकरु भन्ने कृष्णाकुमार पुर्वे र कुशेश्वर ठाकुर कर्तव्य ज्यान मुद्दामा कैद सजाय कारागारमा भोगिरहेका छन भने अन्य आरोपित राजु सिंह र श्यामा मिश्रा फरार रहेको प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !