जनकपुरधाम, कात्तिक २५ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता र गणतन्त्र समाप्त षडयन्त्रमा लागेको आरोप लगाएका छन ।
जनकपुरधाममा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने ओली सरकारले संविधानलाई अपरिवर्तनशील बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र दुवैलाई चुनौैती काम गर्दै आएको छ ।
उनले भने मुलुक कोरोना संक्रमण महामारीको संकट झेलिरहेको अवस्थामा सरकारले जनताको ज्यानको सुरक्षा गर्नुपर्नुको सट्टा आफ्नो दायित्वबाट विमुख भई कोरोना चेकजाँच र उपचारमा दररेट तोकेर व्यवसायीकरणमा लागेको छ, जुन मुलुकको लागि दुर्भाग्य छ ।
अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै विभेद रहित समृद्ध मुलुकको निर्माणका लागि वैकल्पिक शक्तिको रुपमा जसपाको गठन गरिएको उल्लेख गर्दै अब अधिकार प्राप्तिका लागि युवाहरुलाई अघि बढनुपर्ने बताए ।
सो कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, लगायतका वक्ताहरुले समेत आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !