जनकपुरधाम, कात्तिक २२ गते । राज्यको बेवास्ताका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित शताब्दियौं पुरानो ऐतिहासिक प्राचिन कपिलेश्वरनाथ महादेव मन्दिर ओझेलमा पर्दै गएको छ ।
कपिलेश्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिंग प्राचिलन कालिन रहेपनि यसको ऐतिहासिकता ओझेलमा परेको भन्दै त्यसको संरक्षण एवं सम्बद्र्धनमा स्थानीयवासी अग्रसर भएका हुन् ।
स्थानीय कपिलेश्वरनाथ युवा क्लवको अगुवाईमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा स्थानीयवासीहरुले यो मन्दिरको धार्मिक महत्व तथा ऐतिहासिकता बचाउनका लागि मन्दिरको विकास र संरक्षणको माग गरेका छन् ।
त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिरको स्थापना गरेका थिए । स्थानीयवासहरुका अनुसार कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भई सकेका छन् ।
पत्रकार सम्मेलनमा सहभागी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामअशिष पजियारले कपिलेश्वरनाथ मन्दिरको संरक्षण विकासको काम स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलन गरेर हुँदै आई रहेको जानकारी दिए ।
उनले हालसम्म एक पटक मात्रै राज्यको पुरातत्व विभागबाट डेढ लाख रुपैयाको सहयोगमा मन्दिरको जिर्णोद्धार भएको त्यसता दाता र स्थानीय सहयोगमा मन्दिर संचालन हुँदै आएको छ । यति प्राचिन शिवलिंग रहेपनि यो मन्दिरको विकास तर्फ न त प्रदेश सरकारले न जनकपुरधाम उपमहानगरपालिकाले नै चासो देखाएको आरोप लगाए ।
कपिलेश्वरनाथ यूवा क्लवका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्दिरको ईतिहासका बारेमा स्थानीयवासी श्याम पूर्वे, मन्दिरका पूजारी लालबाबु साहले जानकारी दिएका थिए ।
वि.सं. १९९० सालमा आएको भूकम्पमा मन्दिर भत्किएपछि त्यहाँ रहेको अभिलेख तथा त्यहाँका बहुमूल्य मूर्तिहरु कहाँ लगियो यो विषयमा कसैलाई कुनै जानकारी नरहेको र यसको खोज अनुसन्धान हुनु आवश्यक रहेको स्थानीयवासीहरुको भनाई थियो ।
मन्दिर परिसर ५ कठामा फैलिएको छ । यो मन्दिर गुठी अधिनस्थ रहेको छ । मन्दिरमा साउनमा महिनामा तथा शिवरात्रीका दिन ठूलै मेला लाग्ने गर्छ । यहाँ दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गर्छ ।
मन्दिरको ऐतिहासिकता

धनुषाको सदरमुकाम जनकपुरधाममा रहेको प्रसिद्ध कपिलेश्वरनाथ महादेव मन्दिर समेत ख्याती एवं ऐतिहासिकताको हिसाबले प्रसिद्ध मन्दिर हो । कपिलेश्वर नाथ महादेवको मन्दिर जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ जनकपुर जयनगर रेल्व्ेलाइन भन्दा दक्षिणमा अवस्थित छ । गुम्बा जस्तै देखिने यो शिखर शैलीको मन्दिर रहेको छ ।
धार्मिक ग्रन्थहरुका अनुसार जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा महादेवको स्थापना गरेका थिए । ती चार महादेवहरु मध्ये कपिलेश्वरनाथ पनि एक हो । कपिल मुनीको आश्रमको मुनी समेत यहीँ रहेको मान्यता छ ।
पहिले यो मन्दिरको निर्माण सिमरौनगढ शैलीमा गरिएको थियो । पछि ती संरचना बि.सं. १९९० सालको भूकम्पमा ध्वस्त भएका थिए । सोही स्थानमा विष्णुगिरी नामका एक काँवरिया पुगेका थिए । उनले नै भत्केको मन्दिर तोडाउन लगाएर नयाँ मन्दिर निर्माण गर्ने बताएका थिए । पछि उनी फर्केर आएका थिएनन् ।
मन्दिर तोडेपछि स्थानीय यज्ञप्रसादको भूमिकामा पुरातत्व विभागबाट बि.सं. २०३९ सालमा आर्थिक सहयोग गरेपछि नयाँ मन्दिरको निर्माण भएको थियो । स्थानीयवासीहरुको सक्रियतामा मन्दिरमा शिवलंग पुनस्थापना गरिएको थियो भने वर्तमान मन्दिरको निर्माण गरिएको थियो ।
मन्दिर परिसरको चारैतिर स–साना मन्दिरहरु बनाएर त्यसमा भगवानका प्रतिमाहरु स्थापित गरिएका छन । मन्दिरको उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानमी, पश्चिममा शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजीको प्रतिमा स्थापना गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !