जनकपुरधाम, कात्तिक ९ गते । मोटरसाइकल दुर्घटनामा धनुषाको कमला नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको ।
कमला नगरपालिका २ माचि झिटकैयामा हुलाकी राजमार्गमा एक मोटरसाईकलले ठक्कर दिएपछि स्थानीय ५६ बर्षिय गोपाल यादवको मृत्यू भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गईरहेको प्रदेश–२–०२–००१ त ३१२६ नम्बरको मोटरसाईकलले दिएको ठक्करले यादवको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले जनाएको छ ।
कमला नगरपालिका वडा नं. ३ लगमा बजार स्थित लागेको दुर्गा मेला हेरेर आफ्नो घरतर्फ आइरहेको क्रममा यादवलाई विपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो ।
घटनामा ठक्कर दिने मोटरसाईकलमा बसेका सुजित मण्डल समेत घाइते भएका छन । दुईजना सवार रहेको सो मोटरसाइकलमा मण्डल घाइते भएपछि अन्य एकजना मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक रोकायाका अनुसार घाइते मण्डललाई उपचारका लागि अस्पताल पुरयाइएको छ भने मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !