जनकपुरधाम, असोज २९ गते । नेपालका विभिन्न स्थान सहित जनकपुरधाममा समेत ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने मूल नाराका साथ विश्व हात धुने दिवस मनाइएको छ ।
बिहीवार समाज उत्थान युवा केन्द्र धनुषा (सुयुक) को आयोजनामा जिल्ला प्रशासन कार्यालय धनुषामा हात धुने दिवस मनाउँदै टचलेस ह्याण्ड वास स्टेशन समेत जडान गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्षका रामदेव वनरैत यादव, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश वस्नेत, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक र पत्रकार लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष रामदेव वनरैत यादवले हात धुँदा धेरै रोगबाट निको हुन सक्ने भएकाले पालिका स्तरमा समेत यस्ता कार्यक्रम लग्नुपर्ने बताए ।
कार्यक्रममा टचलेस ह्याण्ड वासमा हात कसरी धुने भन्ने कुरा प्रयोगात्मक रुपमा सुयुकका प्रतिनिधिले देखाएका थिए । सो टचलेश हयाण्ड वासको उद्घाटन प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा हात धोएर उद्घाटन गरिएको थियो ।
समाज उत्थान युवा केन्द्र धनुषा (सुयुक) ले युनिसेफ नेपाल र एन.सी.भी. नेपालको सहयोगमा सार्वजनिक प्रदान हुने कार्यालय र विभिन्न स्थान सहित जिल्लाभरमा एक दर्जन भन्दा बढी टचलेस ह्याण्ड वास स्टेशन जडान गरेको छ ।
कोरोना महामारीको समय छिन–छिनमा हात धुन भनिरहेको समय सार्वजनिक ठाउँहरुमा सुयुकले युनिसेफ नेपाल र एन.सी.सी. को सहयोगमा जिल्ला प्रशासन कार्यालयमा १, भूमि सुधार तथा मालपोत कार्यालयमा १, जनकपुरधाम विमान स्थलमा १, जानकी मन्दिरको प्राङ्गनमा २, प्रादेशिक आइशोलेसनमा १, प्रदेश २ मन्त्रालयको मुल गेटमा १, गोपाल धर्मशाला क्वारेन्टिनमा १, गंगुली आइशोलेसनमा २, यदुकूहा क्वारेन्टिन (जनता एकाइ मावि)मा १ र प्रादेशिक आइशोलेसन अस्पताल जनकपुरधाममा २ वटा टचलेस ह्याण्ड वास स्टेशन जडान गरिएको सुयुकका विनोद महतोले बताए ।
यस्तै सुयुकले जि.एस.एफ./यूएन ह्याविट्याटको सहयोगमा धनुषाको धनुषाधाम नगरपालिकामा २, लक्ष्मीनियाँ गाउँपालिकामा २ र जनकनन्दिनी गाउँपालिकामा समेत २ वटा टचलेस ह्याण्ड वास स्टेशन जडान गगरेको छ ।
जिल्लाको विभिन्न स्थानमा जडान गरिएको ह्याण्ड वास स्टेशनको मदतले कार्यालयहरुमा सेवा लिन आउने जाने सेवाग्राही, कर्मचारी लगायतका व्यक्तिहरुमा साबुन पानीले हात धुने बानीको विकास हुने जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !