नेपालगञ्ज, असोज २२ गते । भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्यसहित १५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले अस्पतालका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्री सहित विभिन्न सेवा प्रदायक संस्थाका संचालक सहित १५ जना विरुद्ध घुस लिएको दिएको कसूरमा बिगो रकम र सजाय सहित बिहीवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
अस्पतालमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले खनाललाई १६ लाख १३ हजार नौ सय ७५ रुपैयाँ स्रोत नखुलेको नगद रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा लेखा अधिकृत आचार्य, कम्प्युटर अप्रेटर खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक वर्ष ०७६।०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार ७० बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।
निज माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन माग गरिएको छ ।
त्यस्तै, बरामद नगद १६ लाख १३ हजार नौ सय ७५, बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका एक लाख ६६ हजार मूल्यका मोबाइल थान ३ समेत जफत हुन र अपुग बिगो एक लाख ३२ हजार पाँच सय ९५ सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुल गरी जफत हुन समेत मागदाबी आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !