काठमाडौ, असोज ९ गते । १३ औं संस्करणको आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गरेको छ ।
दुबईमा आयोजित आईपिएलमा किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो । तर रोयल च्यालेन्जर्स बैंगलोर १७ ओभरमा १०९ रनमै समेटेको थियो । बैंगलोरको खराब शुरुवातले पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए ।
तेस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले पाँच बलमा केबल एक रन बनाउन सके । उनी शेल्डन कोट्रेलको बलमा क्याच आउट भए । लगातार तीन विकेट गुमेपछि बैंगलोर संकटमा थियो । पिचमा एरोन फिन्च र एबी डिभिलियर्स थिए । तर फिन्च २१ बलमा २० रन बनाएर आउट भए । एबी डिभिलियर्सलाई साथ दिन वाशिंगटन सुन्दर आए । तर डिभिलियर्स पनि धेरै टिक्न सकेनन् । उनले १८ बलमा २८ रन बटुले । नौ ओभरमा पाँच विकेटको क्षतिमा बैंगलोरले ६० रन बनाउन सक्यो ।
पिचमा रहेका वाशिंग्टन सुन्दर र शिवम दुबेलाई स्कोर उकास्ने चुनौति थियो । तर शिवम दुबे १२ बलमा १२ रन बनाएर ग्लेन म्याक्सवेलको बलमा आउट भए । शिवम दुबेपछि क्रिजमा ब्याटिङमा आएका उमेश यादव खाता नखोली आउट भए । लगत्तै वाशिंगटन सुन्दर पनि आउट भए । उनले २७ बलमा ३० रनको योगदान गरे ।
एकपछि अर्को विकेट झर्दै जाने क्रममा बैंगलोर १०९ रनमा समेटियो । बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर पन्जाबलाई पहिले ब्याटिङ गर्न निम्तो दिएका थिए । पन्जाबले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।
कप्तान केएल राहुलको प्रदर्शन शानदार रह्यो । उनले १४ चौका र ७ छक्काको मद्दतमा ६९ बलमा नटआउट १३२ रन बनाए । उनले सात चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । पन्जाबको पहिलो विकेटको रुपमा मयंक अग्रवाल आउट भए । उनले २० बलमा २६ रन बनाए । बैंगलोरका लागि डेल स्टेन सबैभन्दा महँगा सावित भए । उनले ४ ओभरमा ५७ रन दिएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !