जनकपुरधाम, असोज १ गते । वैश्विक महामारी कोरोना भाइरस (कोभिड १९) बाट मुक्तिका लागि विश्वकल्याणर्थ हेतु धनुषाको लक्ष्मीनियाँ गाँउपालिका वडा नं. १ सोहनीमा एक महिने रामायण पाठ शुरु भएको छ ।
सोहनी स्थित बाबा श्री सोमेश्वरनाथ मन्दिरको प्राङ्गणमा बिहीवारदेखि मास परायणको शुरुमा भएको रामायण पाठ असोज ३० गतेसम्म दैनिक रुपमा हुनेछ ।
मलेमास अर्थात पुरुषोत्तम मास अवधिसम्म सो रामायण पाठ सोहनी गाउँवासीको सहयोगमा आयोजना भएको कुरा स्थानीय नेता हरिनारायण यादवले बताएका छन । उनले भने मलेमासमा भगवान विश्राम अवस्थामा भएको कारण पुजापाठ गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वासका रहेकोले विश्व सहित नेपालका जनता समेत कोरोना भाइरसको आक्रान्तबाट मुक्ति पाउने उद्देश्यले रामायण पाठ आयोजना गरिएको हो ।
प्रत्येक दिन बिहान १० बजेदेखि ९ जना पात्रहरु सहितको मन्डलीले रामायण पाठ गर्नेछ भने अन्तिम दिन २४ घण्टे अष्टजाम गरी मास परायण पाठ सम्पन्न हुने मन्दिरका पुजारी भोला यादवले बताए ।
सो मन्दिरमा प्रत्येक वर्ष भगवान सोमेश्वर महादेवलाई श्रावण महिनामा जल अर्पण गर्न नेपाल र भारतका हजारौ श्रद्धालु आउने गरेको छ भने महाशिवरात्रीका ठूलै मेला आयोजना हुँदै आएको छ । सोहनी स्थित सोमेश्वरनाथ महादेव मन्दिर निकै छोटो समयमै पर्यटकीय स्थलको प्रसिद्ध हुँदै गएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !