जनकपुरधाम, भदौ २३ गते । धनुषाको विदेह नगरपालिकामा एक परिवारका व्यक्तिहरुलाई ज्यालादारीको विषयमा भएको विवादमा निर्घात रुपमा कुटपिट गरिएको छ ।
प्राप्त जानकारी अनुसार विदेह नगरपालिका वडा नम्बर ३ गोबराहीका स्थानीय सवाई दासका श्रीमती, बुहारी लगायत घरमा रहेका वृद्धबृद्धा समेतलाई पूर्व प्रधानपञ्च हरी कुसियैतका छोरा रोशन कुसियैत, बिटु कुसियैत र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपीट गरेका हुन ।
कुटपिटबाट दास परिवारका ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । घाइतेहरु मध्ये निलम देवीको उपचार जनकपुरस्थित काव्या अस्पतालमा भइरहेको जनाइएको छ ।
सोमबार साँझ सामान्य विवादका कारण कुसियैत परिवारले आफू सहित घरपरिवारका व्यक्तिलाई घरमै प्रवेश गरेर कुटपिट गरेको पीडित रामशरण दासले बताए । कुसियैत परिवार पहिलादेखि नै आफूहरु विरुद्ध जमिन्दारी शैली देखाउँदै आएको पीडित दासले आरोप लगाए ।
कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरीचौकीमा पीडित परिवारले निवेदन दिएपनि प्रहरीले आरोपितहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेको आरोप समेत लगाए ।
उता दुहबी प्रहरीचौकीका सई हिलम सिंह दनुवारले दुवै पक्षबिच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुबै पक्षका व्यक्तिहरु घाइते भएको बताएका छन । कुसियैत परिवार पक्षका पनि तीनजना घाइते भएर अस्पताल भर्ना भएको उनको भनाई छ ।
दुर्गेश कुसियैत र निज पञ्चका छोरा बिहारमा रक्सी बन्द भएदेखि प्रहरी प्रशासनको मिलोमतोमा रक्सी, मरिच, इलाइची लगायतका सामानहरु स्मगलिङ्ग गरिरहेको आरोप समेत लगाइएको छ ।
यसैबीच बेचन दासले लोकपुकार सँग कुरा गर्दै ज्यालादारीको आपसी विवाद रहेको भन्दै भने कुसियैत परिवारले मदिराको पसल संचालन गर्दै आएको सो पसलमा दास परिवारका सदस्य काम गर्दै आएको हो । दुवैबीच ज्यालादारी लेनदेनको विषयमा विवाद भई कुटाकुटको अवस्था आएको हो ।
घटना सम्बन्धमा जसपाका नेता राजिव झाले भने,‘केही दिन देखि लगातार दलित परिवारमाथी आक्रमण बढिरहेको छ । नेपालमा दलितको लागि लोकतन्त्र छ कि छैन भन्ने सोचनिय अबस्था आएको छ ।’
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !