जनकपुरधाम, भदौ १८ गते । प्रहरी हिरासतमा युवक मारिएको घटनामा रौतहटका प्रहरी उपरिक्षक रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको छ ।
गत साउन ३१ गते राती जिल्लाको गरुडा नगरपालिका ८ बसविटी जिङ्गडिया घाँटी रेटी हत्या भएको २० वर्षिय निरन्जन रामको घटनामा अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएका विजय महराको प्रहरी यातनाको कारण मृत्यु भएको घटनामा एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।
खड्काको ठाँउमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले प्रहरीले हिरासतमा सो युवकलाई यातना दिएको देखिएपछि प्रदेश २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविन कुमार सिंह, हवल्दार मुन्ना कुमार सिंह र फिरोज मियाँलाई निलम्बन गरिसकेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालयमा यसअघि नै तानि सकिएको छ । उनको ठाउँमा त्यहाँ डिएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।
निरञ्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गरुडा नगरपालिका–८ बसविटी जिङ्गडियाका २० वर्षीय अजय कुमार रञ्जन, १९ वर्षीय विवेक कुमार यादव, १९ वर्षीय अर्जुन राम, २० वर्षीय सिकिन्द्र राम, १९ वर्षीय विजय महरासहित सात जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये विजय महराको प्रहरी यातनाको कारण गत बुधबार राती वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । भदौ १ गते पक्राउ परेका उनलाई ३ गते देखी स्वास्थ्य समस्या आएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरेपश्चात उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !