जनकपुरधाम, भदौ १७ गते । स्थानीय युवाहरुले धनुषाको मिथिला विहारी नगरपालिकाकाका हरहिसाब सार्वजनिक गर्न मांग गर्दै दवाबमुलक अभियान थालेका छन् ।
सो नगरपालिकाले सञ्चालन गरेको विभिन्न योजनाहरुको सूचना आफुहरुले मांग गर्दा भ्रष्टाचार लुकाउन नदिने गरेको भन्दै हरहिसाव सार्वजनिक गर्न मांग गर्दै स्थानीय युवाहरुले बुधवारदेखि दवाबमुलक अभियान थालेका हुन् ।
स्थानीय सुशासन युवा सञ्जालका वरिष्ट सल्लाहकार राजेन्द्र यादवले भने, नगरपालिकाले गरेको खर्चको हिसाव मागेपछि मेयर र अधिकृतले भ्रष्टाचार लुकाउन सूचना दिन मानेका छैनन् । उनीहरुले उल्टै जे गर्नु छ गर भन्दै आफुहरुलाई धम्की समेत दिएका छन् ।
नगरपालिकाले सञ्चालन गरेको विभिन्न योजनाहरु अपारदर्शी रहेको र यसमा अधिकांश रकम मेयर र अधिकृतको गोजीमा गएको उनको आरोप छ । मिथिला विहारी नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै उनले आर्थिक पारदर्शिता नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने चेतावनी दिएका छन ।
सुशासन युवा सञ्जालका नगर संयोजक अजय कुमार पण्डितको नेतृत्वमा भ्रष्टाचार बन्द गर, नगरपालिका बचाऊ, लोकतन्त्रको आधार सूचनाको अधिकार, नगरवासीलाई अटेरी गर्न पाईंदैन, धाकधम्की दिन पाईंदैनलगायतका नारा उल्लेखित प्लेकार्ड बोकेर उनीहरुले नगरपालिका कार्यालयको अगाडी प्रदर्शन समेत गरेका छन् ।
उनीहरुले क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, इन्धन, डिजिटल नगर प्रोफाइल सहितका ११ वटा शीर्षकमा सूचनाको हक सम्बन्धी निवेदन दिएपनि नगरपालिकाले खर्च हिसाबको सूचना दिन नमानेको आरोप लगाएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !