जनकपुरधाम, भदौ १६ गते । रौतहटमा हत्या आरोपमा पक्राउ परेका एक युवकको हिरासतमा मृत्यु भएको प्रकरणमा एक प्रहरी निरिक्षक सहित ३ प्रहरीलाई निलम्बन गरिएको छ ।
रौतहटमा भएको निरन्जन राम हत्या काण्डमा पक्राउ परेका विजय महराको हिरासतमा मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह र प्रहरी हवल्दारद्धय फिरोज मियाँ धुनिया र मुन्ना कुमार सिंहलाई निलम्बन गरिएको छ ।
गत साउन ३१ गते राती रौतहटको गरुडा नगरपालिका वडा नं.८ बसविट्टी जिङ्गडिया बस्ने २० वर्षीय निरन्जन रामलाई घाँटी रेटी हत्या भएको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पक्राउ परेका विजय महराको हिरासतमा प्रहरीको यातनाले मृत्यु भएको थियो ।
ती प्रहरीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खड्काले जानकारी दिएका छन ।
गरुडास्थित महिला तथा बालबालिका सेबा केन्द्रमा साउन २ र ३ गते महरालाई लगेर ती तीनै जना प्रहरी अधिकारीले निर्मम यातना दिएको भिडियो बाहिरिएको थियो ।
प्रहरीको यातनाबाट चिन्ताजनक अबस्थामा पुगेका महराको नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचारको क्रममा भदौ १२ गते मृत्यु भएपछि दलित समुदाय र स्थानीयबासि दैनिक आन्दोलित हुदैं आएका छन् ।
निधन हुनुअघि बिजय महराले भिडियो मार्फत आफुलाई सादा पोशाकमा आएका प्रहरीले करेन्ट, पाईप, बाँसको लौरो र बुटले कुटेर यातना दिएको बताएका थिए । राम हत्याकाण्डमा प्रहरीले बिजय महरा सहित ७ जनालाई पक्राउ गरेपनि दोषिलाई उम्काउन निर्दोषलाई फँसाउन लागेको भन्दै दलित अधिकारकर्मी सहितका सामाजिक अभियन्ताहरु आन्दोलित छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुरोध वमोजिम प्रहरी निरिक्षक नविन कुमार सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिका लागि र प्रहरी हवल्दारद्वय फिरोज मियाँ धुनिया तथा मुन्ना कुमार सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !