जनकपुरधाम, भदौ १५ गते । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको कोरोना संक्रमणले सोमवार उपचारको क्रममा निधन भएको छ ।
पुर्वराष्ट्रपति मुखर्जीको निधन भएको भन्ने कुरा उनका छोरा अविजित मुखर्जी, राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत पुष्टि गरेका छन ।
कोरोना संक्रमण भएर दिल्लीस्थित आर्मी अस्पतालमा उपचाररत मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको हो । शल्यक्रियाका लागि अस्पताल भर्ना भएका मुखर्जीमा शल्यक्रियाअघि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएकोले कोरोनाबाट निधन भएको कुरा चिकित्सकहरुले बताएका छन ।
उहाँ सन् २०१२ मा भारतको तेह्रौ राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएको थियो । आफ्नो राष्ट्रपतिकालमा २०७३ साल कात्तिक १९ गतेका दिन तीन दिने नेपाल राजकीय भ्रमणको क्रममा जनकपुरधाम आउनु भएको थियो ।
नेपाल सरकारको बेवास्ताले मुखर्जीको घोषणा अधुरै
राष्ट्रपति मुखर्जीले भ्रमण क्रममा जनकपुरधाममा चक्रपथ निर्माण र धर्मशाला निर्माण गर्ने घोषणा नेपाल सरकारको बेवास्ता अधुरै रहन गएको छ ।
जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थालुहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक (चक्रपथ) निर्माण गर्ने घोषणा गरेका थिए ।
उहाँले भन्नु भएको थियो ‘नेपाल र भारतबीचको अटुट सम्बन्ध त छँदैछ साथै जनकपुरले पनि भारतको विभिन्न धर्मस्थललाई धार्मिक आस्थासँग जोडेकाले भारत सरकारले यो क्षेत्रको विकासमा गम्भिर छ र हुनुपर्छ’ १३ मिनेट लामो भाषणमा उनले भने, ‘जनकपुरमा दुईवटा धर्मशाला र परिक्रमा सडक भारत सरकारले निर्माण गर्ने घोषणा गर्न पाउँदा हर्षित छु ।
यो क्षेत्रको सडक, विद्युत, औद्योगिक क्षेत्रलगायत अन्य विकासका कार्यमा पनि भारत सरकारले निरन्तर सहयोग जारी राख्ने उहाँले आश्वासन समेत दिनु भएको थियो ।
तर नेपाल सरकारले उहाँले गर्नु भएको घोषणाप्रति ४ वर्षसम्म कुनै चासो नलिंदा जनकपुरधाममा तिर्थालुको लागि धर्मशाला र चक्रपथ निर्माण सपना उहाँसंगै अधुरै रहन गयो ।
जनकपुर भ्रमणको क्रममा उहाँले एक घण्टा १५ मिनेट बिताउनु भएको थियो । सो क्रममा उहाँले जानकी मन्दिरमा भगवान श्रीरामजानकीको करीब ३० मिनेट विशेष पूजापाठ गर्नु भएको थियो । तिरहुतिया गाछीमा जनकपुरधाम उपमहानगरपालिकाद्वारा नागरिक अभिनन्दन गरिएको थियो ।
उहाँलाई जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुइटेलले जनकपुरवासीको तर्फबाट मुखर्जीलाई नागरिक अभिनन्दन गर्नु भएको थियो ।
राष्ट्रपति मुखर्जीलाई नेपाली, मैथिली र अंग्रेजी भाषामा तयार पारिएको अभिनन्दन पत्रमा जनकपुर, मिथिला र नेपालको भारतका अयोध्या लगायत सहरबीचको आन्तरिक सम्बन्ध, राम र सीताबीचको वैवाहिक घटनाक्रम तथा दुई देशबीचको पारस्परिक सम्बन्धको वारेमा उल्लेख गरिएको थियो ।
१९ वर्षपछि जनकपुरमा तेश्रो राष्ट्रपतिको उहाँको भ्रमण भएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !