जनकपुरधाम, भदौ १२ गते । पछिल्लो २४ घण्टामा धनुषा सहित प्रदेश २ मा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
कोरोनो संक्रमणले प्रदेशका धनुषा, बारा र सिरहामा १/१ जना, महोत्तरीमा ३ जना गरी ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा धनुषाको नगराईन नगरपालिका ७ डेवडिहाका ६५ वर्षिय पुरुष, महोत्तरीका मनरा सिस्वा नगरपालिका का ३७ वर्षीय एक पुरुष, सोही नगरपालिका वडा नम्बर–५ का ७४ वर्षीय एक बृद्ध, महोत्तरीको भङ्गहा नगरपालिका २ सिङ्गयाहीका ६० वर्षीय एक पुरुष रहेका छन ।
त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ७७ वर्षीय एक बृद्ध र सिरहाको लहान नगरपालिका ९ का ६५ वर्षीया एक महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।
डेवडिहाका ६५ वर्षिय पुरुषलाई स्वास प्रश्वासमा समस्या भएपछि बुधवार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो तर उपचार सम्भव हुन नसक्दा धरान रेफर गरियो । धरान लैजाने क्रममा बिहीवार नै उनको मृत्यु हुन गएको र शुक्रवार सांझ कोरोना पुष्टि भएको हो ।
शुक्रबार कोरोनाबाट ६ जनाको मृत्यु भएसंगै कोरोना संक्रमणबाट प्रदेश २ मा मृत्यु हुनेको संख्या अहिलेसम्म १२ महिला र ६६ पुरुष गरि ७८ जनाको मृत्यु भईसकेको उनले बताए । कोरोनाका कारण प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३० जनाको मृत्यु भएको छ ।
त्यस्तै बारामा १३, धनुषामा १३, महोत्तरीमा ६, सप्तरीमा ५, सिरहामा ५, सर्लाहीमा ३ र रौतहटमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !