जनकपुरधाम, भदौ ६ गते । कोरोना भाइरस महामारी (कोभिड १९) रोकथाम एवं नियन्त्रणका लागि प्रदेश २ सरकारले बजेट थप निकासा र रकमान्तर गरी २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम निकासा गरेको छ ।
गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको नाममा विभिन्न ४ वटा मन्त्रालयलाई एक अर्ब १७ करोड, ७३ लाख, ३४ हजार ७ सय ८० रुपैया थप निकासा र ५१ करोड ७३ लाख रुपैया रकमान्तर गरी कुल एक अर्ब ६९ करोड ४६ लाख ३४ हजार ७८० रुपैया निकास गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि थप बजेट निकासा र रकमान्तर विवरणमा सबै भन्दा बढी रकम सामाजिक विकास मन्त्रालयलाई बजेट बाहेक थप निकासा र रकामान्तर गरिएको हो । सामाजिक विकास मन्त्रालयलाई ८६ कारोड ५५ लाख, ८४ हजार ७८० थप निकासा र ५४ लाख रकमान्तर सहित ८७ करोड ९ लाख ८४ हजार ७८० रुपैया निकासा गरेको हो ।
त्यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई रकमान्तर सहित ११ करोड ६६ लाख ५०, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई राहतका लागि ३३ करोड ७० लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई कृषि ऋण ब्याजमा राहतका लागि ३६ करोड र भौतिक पुर्वाधार विकास मन्त्रालयलाई कोरोना शिर्षकमा खानेपानी सरसफाई डिभिजन कार्यालयलाई २५ लाखका दरले १ करोड रुपैया थप बजेट निकासा गरिएको छ ।
यी बाहेक मुख्यमन्त्रीको नेतृत्वमा रहेको कोभिड १९ कोषमा संचालक समितिलाई २५ करोड रुपैया निकासा गरिएको छ भने त्यसबाट गंगूली क्वारेन्टाईन व्यवस्थापनका लागि ५० लाख, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई औषधि उपकरण र क्षमता अभिवृद्धिका लागि १० लाख र प्रादेशिक अस्पताल जनकपुरधाममा ५० शैया आईसीयू स्तरोन्नतिका लागि ५ करोड, ६४ लाख ९५ हजार ९ सय रुपैया उपलब्ध गराइएको छ ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई समाचार संकलनको क्रममा कोरोना लागेर मृत्यु हुने पत्रकारका लागि ५० लाख र सामाजिक विकास मन्त्रालयलाई कोरोना लागेर मृत्यु हुने स्वास्थ्यकर्मी, चालक तथा अन्य कर्मचारीको राहतका लागि ५० लाख गरी एक करोड रुपैया यी दुई मन्त्रालयलाई थप निकासा गरिएको छ ।
यस बाहेक प्रदेश सरकारले संघीय सरकारबाट पाएको १७ करोड २ लाख रुपैया समेत खर्च गरेको छ । यतिको रकम निकासा गरिएपनि सम्बन्धित मन्त्रालयहरुले हालसम्म खर्च विवरण सार्वजनिक गरेको छैन । मन्त्रालयहरुले आ आफ्नो कोरोना भाइरस रोकथाम एवं नियन्त्रण खर्च हालसम्म सार्वजनिक गर्न नसक्नुको प्रमुख कारण व्यापक अनियमितता भएको आरोप लाग्दै आएको छ ।
सामाजिक विकास मन्त्रालयले अर्थमन्त्रालयबाट विभिन्न शिर्षकमा थप रकम निकासा र रकमान्तर गरिएपनि आफ्नो बजेट खर्चमा समेत देखाएका छन । एउटै शिर्षकको खर्च रकम दुई दुई ठाउँमा ती मन्त्रालयहरुले देखाएको मन्त्रालय श्रोतको दाबी छ । प्रादेशिक अस्पतालमा आइसीयू निर्माणका लागि उक्त मन्त्रालयले कोषबाट रकम निकासा भएपनि आफ्नो मन्त्रालयको खर्चमा समेत देखाएको छ ।
ती मन्त्रालयहरुले आफ्नो बजेटबाट रकम खर्च बाहेक अर्थमन्त्रालयबाट रकामान्तर सहित थप रकम निकासा गराएको छ । प्रदेश सरकारले बजेट बाहेक अर्बौ रुपैया रकमान्तर सहित थप निकासा गराएपनि समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रण गर्न असक्षम देखिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना उपकरण र औषधि शिर्षकमा ७६ करोडभन्दा बढी रकम निकासा गराएको छ ।
सो मन्त्रालयले यसबाहेक स्वास्थ्य कार्यालय धनुषाको कर्मचारी तलबको नाममा ८२ लाख र जनचेतनामूलक सूचना प्रवाह गर्न ८० लाख रुपैया निकासा गरेको छ । यतिको रकम खर्च भएपनि उपचार आभावमा बिरामी र संक्रमित मर्दै गएको संख्याले उपलब्धी शून्य देखिएको छ ।


यो न्यूज कुनैपनि संचार माध्यमले कपीपेष्ट गर्न पाउने छैन, यदि फेला परेको खण्डमा कानून बमोजिम अघि बढछौं । तसर्थ न्यूज लिन इजाजत लिनुपर्नेछ वा साभार उल्लेख गर्नुपर्नेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !