सुभाष कर्ण/ जनकपुरधाम, भदौ ५ गते । स्थानीय तह जनप्रतिनिधि विलासी, सुविधामुखी र भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएको अवस्थामा एउटा यस्तो जनप्रतिनिधि पनि देखा परेका छन जसले सरकारी सेवा सुविधा नलिई दिनरात जनताको सेवामा जुटेका छन ।
विलासी र सुविधामुखी स्थानीय तह जनप्रतिनिधिका बीचमा भीमबहादुर थापा क्षेत्री यस्तो नाम हो जसले निर्वाचित भएदेखि तलब, भ्रमण तथा बैठक भत्ता, गाडी, बैठक र इन्धन लगायतका कुनैपनि सेवा सुविधा नलिई आजसम्म निस्वार्थ जनताको सेवा गर्दै आएका छन ।
निस्वार्थ सेवा भावले जनताको सेवा गर्ने ती व्यक्ति हुन प्रदेश नं. ५ नवलपरासीका सुनवल नगरपालिका मेयर भीमबहादुर थापा क्षेत्री । मेयर क्षेत्रीले सरकारबाट पाउने सेवा सुविधा वापतको रकम गरीब, विपन्नलाई सहयोग र स्वास्थ्यमा हरेक नागरिकको पहुँच होस भन्ने स्वास्थ्य क्षेत्रमा खर्च गर्दै आएका छन ।
नेपाल सरकारबाट पाउने तलब, भत्ता, इन्धन लगायतको रकम गरीब, असहाय र तिनीहरुको सेवाका लागि खर्चदै आएको कारण उनी देशमै चर्चाका विषय बनेका हुन । नेपाली कांग्रेसबाट निर्वाचित मेयर थापासरकारी गाडीको सट्टा आफ्नै निजी गाडी चढदै आएका छन भने त्यसमा प्रयोग हुने इन्धन समेत आफै तिर्ने गरेका छन । नगरपालिकाबाट पाउने सुविधा मात्र चिया लिने गरेको छ ।
लोकपुकारसँग कुरा गर्दै मेयर थापाले भने आफूले पाउने सेवा सुविधा वापतको रकम एनआईसी एशिया बैंकमा खाता खोली नगरपालिकाको मेयर विशेष कोषमा जम्मा गरिएको छ । कोषमा पहिलो वर्षको जम्मा रकमबाट गरीब, असहाय, विपन्नहरुलाई विभिन्न सहयोग गरियो र दुई वर्षको रकम सुनवल स्वास्थ्य चौकीमा दिने घोषणा गरिसकिएको छ ।
उनले भने स्वास्थ्य चौकीको भौतिक संरचना त नगरपालिकाबाट नै सरकारी स्तरमा बनि हाल्छ तर नगरपालिकाले गर्न नसक्ने अन्य सुविधा आफूले दिएको रकम खर्च हुनेछ । स्वास्थ्य चौकीमा दिइने रकमबाट अक्षय कोष स्थापना गर्ने कि, बर्थिङ्ग सेन्टर निर्माण गर्ने वा एक्सरे मेसिन खरीद गर्ने लगायतका विषयमा छलफल भइरहेको छ ।
मेयर थापाले भने स्वास्थ्य चौकीलाई सहयोग गर्ने घोषणा गरिएको ८ लाख ३ हजार मध्ये चालु आर्थिक वर्षको भदौ ४ गतेसम्म ७ लाख ९३ हजार १ सय ७९ रुपैया कोषमा जम्मा भइसकेको छ । रकम पुरा गदै अघिल्लो महिनामा हस्तान्तरण गरिनेछ या त्यसको नाममा कोषमै जम्मा रहनेछ ।
देशका अधिकांश पालिकाका जनप्रतिनिधिले कोरोना संक्रमण महामारीमा जोखिम भत्ता लिएका छन । तर मेयर थापाले कोरोना महामारी संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गत आ.ब. वर्षको ३ महिनाको तलब भत्ता बराबरको १ लाख ३ हजार रुपैया सहयोग गरेका हुन ।
यसका साथै नगरपालिका बाहिर गएको बैठक भत्ताबाट आएको करीब एक लाख रुपैया मध्ये वडा नं. ८ का एक विपन्न व्यक्तिको किड्नी शल्यक्रियामा ३२ हजार, वडा नं. २ का एक जनालाई क्रिया खर्च वापत २५ हजार र विपन्न परिवारका एक व्यक्तिलाई सिटी रिक्सा खरीद गर्नमा सहयोग गरेको जानकारी समेत उनले दिए ।
थापा देशकै उदाहरणीय मेयर मध्ये एक हुन जसले यस्ता मेयर हुन जसले आफूले पाउने सेवा सुविधा वापतको रकम आर्थिक रुपले विपन्न वर्गका बिरामी, असहाय, अपांग, वृद्धवृद्धा र स्वास्थ्य तथा शिक्षाबाट वंचित भएका व्यक्तिहरुका लागि र प्राकृतिक प्रकोपबाट पिडीतको राहत सहितका सामाजिक क्षेत्रमा खर्च गर्दै आएका हुन ।
आफ्नो कार्यकाल अवधिभरका सरकारबाट पाउने तलब र भत्ता सहितको रकम र सोही बराबरको रकम थप गरी नगरभित्रको विपन्न वर्गको स्वास्थ्य, शिक्षा र आर्थिक सहयोगमा खर्च गर्ने योजना रहेको उनले बताए ।
निर्वाचित अघिदेखि नै निजी लगानीमा विकास निर्माण र विभिन्न सामाजिक कार्यहरु गर्दै आएका मेयर थापाले जनताको निस्वार्थ सेवा गर्न आफू राजनीतिमा आएको हुँ र भ्याएसम्मको सहयोग गरिरहने प्रतिबद्धता समेत जनाएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !