जनकपुरधाम, भदौ ५ गते । एशिया टप आइसोलेशन दाबी गरिएका प्रदेश २ को स्थित धनुषाको गंगुली र सपही स्थित आइसोलेशन अव्यस्थित र दयनीय अवस्था रहेको देखिएको छ ।
सो आइसोलेशनमा बसेकाहरुले मापदण्ड अनुसारको सुविधा त परै जाओस फोहर र अव्यस्थि रहेको आरोप लगाएका छन । उनीहरुका अनुसार ती आइसोलेशनमा न त कुनै चिकित्सक चेकजाँच गर्न आउँछ, न पोषिलो खाना र शुद्ध पानीको व्यवस्था रहेको छ संक्रमितहरुसँग अमानवीय व्यवहार गरिदै आएको छ ।
प्रदेशका मेयर, सांसद र मन्त्रीहरु संक्रमित भएपछि आइसोलेशन अव्यवस्थित र फोहर भएको कारण आ आफ्नो सुविधा हिसाबले काठमाडौ स्थित अस्पताल र होम आइसोलेशनमा राख्ने व्यवस्था गरिदै आएको छ भने आम नागरिकलाई सो आइसोलेशनमा राखेर थुनुवा झै व्यवहार गरिदै आएको छ ।
थुनुवा र कुकुर झै व्यवहार गरिदैछ : संक्रमितहरु

गंगुली स्थित आइसोलेशनमा बसेका पत्रकार राकेश साहका अनुसार आइसोलेशन निकै फोहर छ, शैचालय समेत निकै फोहर र दुर्गन्धित रहेको छ । सो आइसोलेशनमा शुद्ध खानेपानीको सट्टा मोटरबाट तानिएका हप्तौ दिनको जम्किएका खाने व्यवस्था गरिएको छ, भने खाना समेत खानै नसक्ने खालको दिने गरिएको छ ।
न खानपिनको कुनै ठेगान छ न त सुत्नका लागि ओछ्यान नै । छ त मात्र खाली बेडहरु । उनले भने, म यहाँ आएको दिनदेखि झन बिरामी परेको महसुस गर्दैछु । सो आइसोलेशनमा संक्रमितहरुका लागि न त यहाँ बेडसिट छ, न मछरजाली छ, न साबुन छ, न पानी छ, न त मास्क नै । स्यानिटाइजर आदि कुनै सेफ्टी सामग्रीको कुनै व्यवस्था छैन् । यस्तो अवस्थामा संक्रमितलाई झन जोखिम रहेको छ ।
सोही आइसोलेशनमा बसेका हंसपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष उदय सिंहका अनुसार आइसोलेशनमा जानवर झै व्यवहार गरिदै आएको छ, स्वास्थ्य चेकजाँचका लागि न त कुनै चिकित्सक आउँछ न स्वास्थ्यकर्मी नै, खानामा खानै नसक्ने मोटो चामलको भात, उडदको दाल र सबैदिन कान्दा तथा बन्दा गोभीको तरकारी दिने गरिएको छ ।
फोहर र दुर्गन्धित ठाउँमा बस्नुपर्ने बाध्यता र पोषिलो खाना त के कुकुरलाई दिए झैं बाहिरैबाट गेटमा खाना फालेर भाग्छन, यस्तो क्रियाकलपाले आफूहरु आइसोलेशनमा थुनुवा झै कुन अपराधको सजाय भोगिरहेको उनले भन्दै उनले संक्रमणको कुनै लक्षण नदेखिएपनि आइसोलेशनको अमानवीय व्यवहारले झन बिरामी हुन थालेको महसूस भइरहेको बताए ।

त्यस्तै अवस्था सपही स्थित क्वारेन्टाईनको पनि छ । त्यहाँ बसेका एक संक्रमितले नाम उल्लेख नगर्ने शर्तमा भने एशिया टप भनिएका यी आइसोलेशनमा त न पोषिलो खाना व्यवस्था न शुद्ध खानेपानी कै, फोहर त्यति कै छ । संक्रमितको अवस्था बुझ्न कहिलेपनि स्वास्थ्यकर्मीहरु आउंदैन । आइसोलेशनको अमानवीय व्यवहारले झन बिरामी हुने अवस्था आएको छ ।
निर्देशिका मापदण्ड अनुसार क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरु व्यक्तिहरुका लागि बिहान ७ः३० देखि ८ बजेसम्म चिया र खाजा, बिहान ११ः ३० देखि १२ बजेसम्म दिवा खाना, दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म खाजा र बेलुकी ७ः३० देखि ८ बजेसम्म रात्री खाना व्यवस्था गरिने सरकारी मापदण्डमा तोकिएको छ ।
तर ती आइसोलेशनहरुमा कहिलेकाँही चिया मात्र दिने गरिएको छ, बिहान र रातिको खाना कति बेला दिन्छ ठेकानै छैन, सधैंजसो बिहानको खाना दिउंसो ३ बजेसम्म दिने गरिएको छ । दुई टाइम खाजा दिनुपर्नेमा कहिलेपनि दिइदैन मात्र खाना दिने गरिएको छ । समयमा खाना नपाउने र खानै नस्कने दिने गरिएको खानाको कारण त्यसमा बस्नेहरु घरबाट ल्याएको बिस्कुट र चाउचाउ खाएर ज्यान जोगाई रहेका छन ।
प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले घोषणा गरेको ती एशिया टप आइसोलेशन निर्माणका लागि करोडौ रुपैया खर्च गरिएको छ तर फोहर र अव्यवस्थापनले गर्दा भएको हाल बेहालले ती रकम अनियमितता भएको नागरिक समाजका अगुवा युवा नेता सरोज मिश्रको आरोप रहेको छ ।
मापदण्ड विपरित ती आइसोलेशन

निर्देशिका अनुसार चिकित्सक स्वास्थ्यकर्मी सहित कम्तिमा तीनजना सरसफाइ कर्मचारी, डस्टबिन र पर्याप्त मास्कको व्यवस्था, तोकिएको मापदण्ड अनुसार फोहोर व्यवस्थापन, छुट्टाछुट्टै साबुन र स्यानिटाइजर हुनुपर्नेछ । त्यहाँ बस्नेहरूको कम्तीमा दिनको दुईपटक स्वास्थ्य परीक्षण हुनुपर्ने र त्यहाँ व्यायाम तथा मनोपरामर्श सम्बन्धी क्रियाकलाप नियमित हुनुपर्ने’ र मनोचिकित्सकको व्यवस्था हुनुपर्नेछ । तर त्यस्तो कुनै व्यवस्था नरहेपनि खर्च करोडौ रुपैया हुँदै आएको छ ।
डूब्लुएचओ मापदण्ड अनुसार प्रि, सेमी र फुल गरी तीन वर्गमा बाँडिएको छ । प्रि आइसोलेशन भनेको होम आइसोलेन र व्यवस्थित क्वारेन्टाइन सरह हुनुपर्नेछ, जहाँ उपचारको कुनै व्यवस्थापन नभएपछि चिकित्सक स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ । सेमी आइसोलेशन जहाँ चिकित्सकीय टोली सहित आक्सीजन र उपचारको व्यवस्थापन हुनुपर्नेछ । तेश्रो हो फुल आइसोलेशन जहाँ चिकित्सकीय टोली, आक्सीजन र भेन्टिलेटर सहितका सम्पूर्ण व्यवस्थापन हुनुपर्ने छ ।
तर गंगुली र सपहीमा निर्माण गरिएको आइसोलेशन यी मध्ये कुनै वर्गमा पर्दैनन् । बरु क्वारेन्टाईनभन्दा पनि खराबस्तरको रहेको छ । जहाँ चिकित्सक टोली, आक्सीजन र भेन्टिलेटर त के खाना र खानेपानी तथा सुत्ने ओछयानसम्मको व्यवस्था छैन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !