जनकपुरधाम, साउन २८ गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामा होटलका संचालक कृष्ण गिरीको निधनले अपुरणीय क्षति भएको बताएका छन ।
बुधवार एक शोक वक्तव्य जारी गर्दै उपसभापति निधिले नेपाली काँग्रेसका नेता तथा रामा होटेलका संचालक गिरीको कोरोना रोगले निधन भएकोमा नेपाली काँग्रेस तथा समाजमा अपुरणीय क्षति भएको बताएका छन् ।
गिरीप्रति शोक व्यक्त गर्दै निधिले भनेका छन ‘उनको निधनबाट नेपाली काँग्रेस, समाजले र मैले व्यक्तिगत रुपमा अपुरणीय क्षति बेहोरेको महसुस गरेका छौं ।’
उपसभापति निधिले मेरो हजुर बुवाको पालादेखि नै गिरी परिवारसँग गहिरो र मैत्रीपुर्ण सम्बन्ध रहेको चर्चा गर्दै उहाँ सँग पारिवारिक एवं राजनीतिक सानिध्यता अत्यन्त आत्मीय र सम्मानजनक रहेको स्मरण गराएका छन ।
कोरोना संक्रमणबाट ग्रसित गिरी गत २० देखि काठमाडौ स्थित मेडासिटी अस्पतालमा उपचाररत थिए । गएराति १२ बजेको समयमा उनको मृत्यु भएको कुरा उनका छोरा डा. सन्तोष गिरीले पुष्टि गरेका थिए ।
नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुई छोरा र श्रीमती छन् ।
उनका दुवै छोरा डाक्टर हुन् । गिरी क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय सखुवा महेन्द्रनगरको अध्यक्ष तथा संस्थापक समेत रहेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !