जनकपुरधाम, साउन २८ गते । सिरहा जिल्ला कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल र उनका छोरा सन्तकुमार मण्डल घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।
कुनै योजनाको डीपीआर तयार गर्न सेवाग्राहीसँग ५ लाख रुपैया घुस लिएको आरोपमा दुवै बुवा र छोरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधवार बिगो सहित मांग दाबी गर्दै मुद्दा दाबी गरेको हो ।
गत असारको अन्तिम सातामा अख्तियारले डीपीआर सम्पन्न गरेको भुक्तानीका लागि सेवाग्राहीसँग घुस लिएको चेकको रकम सहित मेयर सुर्यनाथका छोरा सन्तकुमारलाई पक्राउ गरेको थियो । घटनाको अनुसन्धान गर्दै मेयर स्वयं संलग्न रहेको पुष्टि भएको थियो ।
मेयरले घुसको रकम लिन छोरालाई पठाएको सूचना र उजुरीको आधारमा बर्दिबासबाट खटि गएको टोलीले सन्तकुमारलाई घुसको रकम बराबरको चेक सहित पक्राउ गर्दा चेक उनी संगै रहेको कारण क्लिरिंग समेत हुन सकेको छैन ।
घुस लिएको पुष्टि भइसकेपछि अख्तियारले मेयर र उनका छोरा दुवै विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय र घुस वापतको रकम बिगो सहितको रकम असुल गर्न मांग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मेयर सुर्यनाथ दोषी ठहरिए स्थानीय तह सेवा संचालन सम्बन्धी ऐन बमोजिम उनी मेयर पदबाट निलम्बन समेत हुन सक्नेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !