जनकपुरधाम, साउन २८ गते । प्रदेश २ मा बुधवार कोरोना संक्रमणले ५ जनाको मृत्यु भएको छ ।
संक्रमणले धनुषाको जनकपुरधामका २, महोत्तरीका १, बाराका २ जनाको मृत्यु भएको हो ।
जनकपुरधामका रामा होटलका संचालक कृष्ण गिरीको काठमाडौ स्थित मेडासिटी अस्पतालमा र एक ३८ वर्षिय महिलाको ललितपुरस्थित मेडासिटी अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै महोत्तरीका मटिहानी नगरपालिका ६ का ५२ वर्षिय पुरुषको पनि संक्रमणले मृत्यु भएको हो । ती पुरुषको गत २ दुई दिनअघि जनकपुरधाम स्थित रामजानकी होस्पीटलमा मृत्यु भएको थियो तर बुधवार उनीमा कोरोना पुष्टि भएको छ ।
यस्तै वीरगञ्जमा मृत फेला परेका बारा जिल्लाको विश्रामपुर गाउँपालिका ५ इटियाही निवासी ३८ वर्षिय एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सदरमुकाम कलैया निवासी ७७ वर्षिय वृद्ध पुरुषको काठमाडौ स्थित त्रिवि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ती पुरुषमा पनि कोरोना पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रदेशमा अहिलेसम्म ४२ जनाको कोरोना संक्रमण भएर मृत्यु भइसकेको छ । जस अनुसार पर्सामा २३ जना, धनुषामा ५ जना, सप्तरीमा ३ जना, बारा ४, महोत्तरी र रौतहटमा २÷२ जना, सिराहामा २ र सर्लाहीमा एक जनाको मृत्यु भएको हो ।
यसैबीच पछिल्लो २४ घण्टामा प्रदेश २ मा २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा सबैभन्दा बढी सप्तरी जिल्लामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिराहामा २४ र पर्साका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !