लहान, साउन २५ गते । कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणको नाममा सिरहा नगरपालिकाले भ्रष्टाचार गरेको विभिन्न संचार माध्यममा समाचार आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो नगरपालिकामा छापामारी गरेका छन ।
आइतवार आयोगको बर्दिबास कार्यालयका अधिकृत नवराज सुवेदी नेतृत्वको टोलीले छापामारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा खरिद गरिएको सामाग्री सम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको छ ।
सो नगरपालिकाले कोरोनामा खर्च गरेको विवरणमा व्यापक भ्रष्टाचार गरिएको गुनासो आएपछि आयोगको टोलीले छानविन प्रक्रिया अघि बढाउन सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको कुरा अख्तियार बर्दिबासका प्रमुख मणिराम ज्ञवालीले जानकारी दिए ।
सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको जसमा १ सय ११ वटा तकिया खोल २८ सय ७६, तन्ना ८ हजार ७६ र मास्क २२ रुपैया दर सहित सहित विभिन्न सामाग्री बजार दरभाउ भन्दा बढी महंगोमा खरीद गरिएको देखाइएको छ ।
जिल्ला प्रशासन कार्यालयलाई समेत बुझाइएको उक्त विवरणमा अधिकांश सामाग्री बजारको खुद्रा दरभन्दा पनि कयौं गुणा बढी रकम रकममा खरीद गरिएको सूची सामाजिक सञ्जालमा भाइरल भएपछि संचारकर्मी र सम्बन्धित निकायको चासो बढेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !