जनकपुरधाम, साउन २० गते । प्रदेश २ सरकारले कोरोना महामारी रोकथाम एवं नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय बेडको उपचार सहितको आइसोलेशन बेड थप्ने भएको छ ।
कोरोना महामारी भयावह रुप लिन थाले पछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेशन सैया थप गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री निवासमा सम्पन्न बैठकबाट कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हाल सम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय बैठकबाट गर्ने गरिएको हो ।
सो बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. राम केवल साह, जीतेन्द्र कुमार यादव सहितको सहभागिता रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !