जनकपुरधाम, साउन २० गते । कोरोना संक्रमणको अवस्था भयावह बन्दै जनकपुरधाम सहित प्रदेश २ को ६ वटा जिल्लामा निषेधाज्ञा जारी रहेको छ ।
बढदै गएको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि उच्च जोखिममा रहेका केही सम्पूर्ण जिल्ला र केही सदरमुकाममा निषेधाज्ञा स्थानीय प्रशासनद्वारा जारी गरिएको हो । सप्तरी, धनुषा, महोत्तरी, रौतहट, बारा र पर्सा जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी रहेको छ ।
प्रदेशका विभिन्न जिल्लाका शहरहरुमा निषेधाज्ञा जारी गरिएपछि सुनसान रहेको छ । जनकपुरधाम बजार समेत सोमवार बिहानैदेखि सुनसान छ, निषेधाज्ञा सफल पार्न प्रवेश प्रमुख नाका र चौकहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने केही जिल्लामा सेना समेत परिचालन गरिएको छ ।
समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको बढदै गएपछि स्थानीय प्रशासनद्वारा धनुषाको सदरमुकाम एवं प्रदेशका अस्थायी राजधानी जनकपुरधाममा सोमवार राति बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको कुरा प्रमुख जिल्ला अधिकार प्रेम प्रसाद भटराईले जानकारी दिएका छन ।
त्यस्तै महोत्तरी सदरमुकाममा गएको शुक्रबार मध्यराति देखि पाँच दिनको लागि, सप्तरीको सदरमुकाम राजविराजमा मात्रै रहेको निषेधाज्ञा सोमवारदेखि जिल्ला भरी लागू गरिएको छ भने पर्साको जिल्ला भरि, रौतहटको सदरमुकाम गौर र बाराको सदरमुकाम कलैयामा निषधाज्ञा जारी रहेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन र स्थानीय तहद्वारा निषेधाज्ञा जारी गरिएको हो ।
समुदायस्तरमा सङ्क्रमित बढेपछि थप सङ्क्रमण फैलिन नदिन तयारी पूर्वाभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन । उनले सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदेश नम्बर २ मा आवश्यक स्रोत, साधन र पीसीआर परिक्षण सामाग्री उपलब्ध गराउन माग समेत गरेका छन ।

समुदायमा कोरोना सङ्क्रमण फैलिनबाट रोक्न प्रदेश २ को आठ जिल्लामा मास्क नलगाउने ५४ हजार जनालाई कारबाही गरिएको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले जानकारी दिएका छन ।
निषेधाज्ञा अवधिमा स्वास्थ्य, औषधि, खानेपानी, दुध, खाद्यान्न वस्तु, विद्युत, दमकल, इन्धन, सरसफाई, भन्सार, बैंक, क्वारेन्टाइन जस्ता अतिआवश्यक सेवा बाहेक सबै बन्द रहने तथा अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै सवारीसाधन चलाउन पाइने छैन ।
निषेधित क्षेत्र भित्र अति आवश्यक काम बाहेक घरबाट नस्किन प्रशासनले आग्रह गर्दै अवहेल्ना गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन,२०२० बमोजिम कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !